Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०२, २०८१
Wednesday, September 18, 2024

हामीलाई राम्रोसंग थाहा छ कि, जापानमा नेपालीहरुको आगमन निरन्तर बढ्दो क्रममा छ र यो क्रम घट्ने देखिदैन । हाम्रो लामो अनुभव र अभ्यासले के भन्छ भने जापानमा नेपालीहरुको अवस्था, उनीहरुले गरेको प्रगति, बढ्दो क्रयशक्ति, बिचार र चेतनामा आएको बिकास हेर्दा हिजोको भन्दा सन्तोष गर्ने ठाउँमा हामी आईपुगेका छौं । नेपालीहरु साना-ठूला जे भएपनि संगठित भएर रहने, एकअर्कालाई पर्दा मिलेर सहयोग गर्ने, आ-आफ्नो गाउँ ठाउँमा सकेको सहयोग गर्ने जस्ता गतिविधि गर्दै उनीहरु नेपाली समुदायलाई अझ उन्नत बनाउन क्रियाशील देखिन्छन् । यति हुँदाहुँदै जापानमा नेपालीहरुको ब्यवसाय, उद्यमशिलता र आर्थिक समृद्धिसंग सरोकार राख्ने नितान्त नेपाली बिजनेश कम्युनिटी निर्माण गर्ने जमर्को स्वरुप सन् २०१८ को सेप्टेम्बरमा नेपाली ब्यवसायी संघ (NBA) जापानको स्थापना भएको हो ।

स्थापना भएसंगै प्रारम्भिक दिनहरुमा आफ्ना गतिविधिहरु मार्फत आफुलाई नेपाली समुदायमा उभ्याउने जमर्को गर्दै गर्दा कोभिड-१९ लगायत अन्य कारणहरुबाट संघका गतिबिधिहरु पनि प्रभावित हुन पुगे । समयमा अधिवेशन हुन सकेनन् । करीव ३ चोटी अधिवेशन भईसक्ने बेलासम्म दोस्रो अधिवेशन समेत हुन नसक्दा नेतृत्वमाथि प्रश्न उठे, ठूलो आशा र अपेक्षाका साथ सुरु भएको संघप्रति जनजनमा निराशा र वितृष्णा फैलन थाल्यो । यसैबीच ढिलोगरी दोस्रो अधिवेशनको तिथिमिति तय भईसकेर पनि अब सम्पन्न हुने संघारमा आईपुग्दा एनबिए अब कसरी अगाडि बढ्छ ? एनबिएको भविष्य पनि विगतजस्तै पेण्डुलमको स्थिति नआउला भन्ने के ग्यारेन्टी ? जस्ता प्रश्नहरु जनमानसमा ब्याप्त छन् । यसो हुनु स्वभाविकै हो ।

ब्यवसायिक क्षेत्रका नेपालीहरुलाई एकत्रित गरी विशुद्ध ब्यवसायिक गतिविधि र उनीहरुको हक, हित र ब्यवसायिक प्रवर्धनका लागि क्रियाशील रहने गरी एनबिए जापान नयाँ शिराबाट जुरुक्क उठ्न जरुरी छ । नयाँ बन्ने टिमले ठोस एक्शन प्लान सहित कार्यक्षेत्रमा होमिनुपर्दछ । कम्तिमा पनि कार्यकालभरि अन्यत्र नबरालिने सर्तमा भिजन, रिजन र सिजन सहितको नेतृत्वले अबको एनबिएलाई थप उचाईमा पुर्‍याउन सक्नुपर्दछ । नेतृत्व, नीति, र टिम मात्रै राम्रो भएर पनि अपेक्षित कार्यसम्पादन हुन नसक्ने रहेछ भन्ने हामीले विगतको अनुभवबाट सिकिसकेका छौं । त्यसैले एनबिएको साँगठानिक संरचनामा पनि थोरै हेरफेर गर्न आवश्यक छ । योजना निर्माण मात्रै गर्नु ठूलो कुरो होईन, त्यसलाई अक्षरशः समयमै कार्यान्वयन गराउनु सबैभन्दा ठूलो चुनौती हो । उद्देश्यहरुको चाङ एकातिर छन् संस्था अर्कोतिर बरालिईरहेको छ भने गन्तब्यमा पुग्न सकिदैंन । कार्यकारी समितिलाई ट्रयाकभन्दा बाहिर जानबाट रोक्न र चलायमान बनाईराख्नुका साथै निर्धारित कार्ययोजना अनुसार अगाडि बढ्नका लागि सहयोग गर्ने, घच्घच्याउने र आवश्यक परे दबाब समेत दिन सक्ने हैसियत राख्ने अधिकार सम्पन्न एउटा छुट्टै मेकानिज्मको ब्यवस्था बिधानमा गर्नुपर्दछ ।नीति निर्माण तथा कार्यान्वयन गर्ने गराउने जिम्मेवारी सहितको एउटा अधिकारसम्पन्न संयन्त्र हुने हो भने कम्तिमा पनि संस्थामा गतिशिलताले निरन्तरता पाउनेमा दुई मत छैन ।

एनबिएलाई जापानमा बस्ने नेपाली बिजनेश कम्युनिटीको एउटा आशा लाग्दो र गर्विलो संस्था बनाउने हो भने टिम पनि त्यसरी नै समावेशी चरित्रको बनाईनु आवश्यक छ । हुन त, हामी जस्तो सोसाइटीमा बस्छौ हाम्रो नेतृत्व पनि त्यस्तै आउने हो तथापि उपलब्ध मध्यको उत्कृष्ट, सक्षम र पब्लिक फिगर राम्रो भएको अर्थात स्वीकार्यताको दायरा अत्यधिक फराकिलो भएको नेतृत्व चयनका लागि निर्वाचन समितिले हदैसम्मको अभ्यास गर्नुपर्दछ । त्यसका लागि मौजुदा कार्यसमितिले पनि निसंकोच सहयोग गर्नुपर्दछ । त्यसबाहेकका पदाधिकारी एवं समितिका सदस्यहरुमा पनि फरक फरक ब्यवसायिक क्षेत्र, भूगोल, समुदाय र क्षमता भएका ब्यक्तिहरुको टिम भयो भने ब्यवसायका हरेक क्षेत्रले अपनत्व महशुस गर्न सक्दछ र संस्थाले उद्देश्य मुताविक गन्तब्यतर्फ आफ्नो उडान भर्न सक्छ भन्ने हो ।
हामीले विगतबाट राम्ररी पाठ सिक्न जरुरी छ, अधिवेशन भनेको विगतको निर्मम समीक्षा गर्ने र भावी योजना बारे बहिङ्गम छलफल एवं बहसबाट निस्केको निचोडलाई कार्यान्वयनमा लैजाने महत्वपूर्ण महायज्ञ हो । त्यसोभएको हुनाले यसलाई सोहीअनुरुप तयारी गरी महत्वका साथ उपयोग गरिनु वाञ्छनीय छ ।

एक अध्ययनका अनुसार जापानमा झण्डै ६ हजारको हाराहारीमा नेपाली ब्यवसायीहरु छन् । उनीहरुमा कतिपय अति सफल र स्थापित छन् भने कतिपय संघर्षरत फेजमा छन् त कतिपय अब कामदारबाट छिट्टै ब्यवसायी बन्ने योजनामा छन् । स्थापितहरुबाट नयाँहरुका लागि सफलताका कथा र अनुभव अनुकरणीय हुन सक्छन् । ब्यवसायिक घरानाहरु एकैठाउँमा उभिने हो भने हरेक सरोकारवला निकायसंग गरिने बार्गेनिङ पावर बढ्न सक्छ । आफ्ना ब्यवसायमा प्रयोग हुने सामग्री ब्यवस्थापनमा नेपाली ब्यवसायीहरुको ठूलो धनराशी अन्यत्र गईरहेको अवस्था छ । एउटा सामुहिक परियोजना मार्फत यसलाई ब्यवस्थित गर्न सकिन्छ । जापानका सरोकारवला निकायमा सम्बन्ध र सम्पर्क बढाई समन्वय गर्न सक्ने हो भने हाम्रा ब्यवसायी नेपालीहरुलाई थप सेवा र सुबिधा बृद्धि गर्न सकिन्छ भने नेपालमा पनि नेपाल सरकारको उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय, लगानी बोर्ड, उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्श, पर्यटन बोर्ड जस्ता सरोकारवला निकायसंग समन्वय गरी विभिन्न खालका कार्यक्रमहरु गर्न सकिन्छ । त्यसैले एनबिएको भविष्य र यसको दायरा ज्यादै फराकिलो छ, तर हामीले सोहीअनुसारको फराकिलो सोच बनाएर अलि टाढासम्म हेर्न सक्नुपर्दछ । त्यसैले एनबिए जापानलाई न्यू ब्राण्डिङ गरेर जापानबासी नेपाली ब्यवसायीहरुको आशा जगाउन आसन्न अधिवेशन एउटा कोसेढुंगा साबित हुने अपेक्षा गर्न सकिन्छ।***

तपाईको प्रतिक्रिया