मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा नागढुंगा–सिस्ने खोला सुरुङमार्ग अन्ततः छेडिएको छ। निर्माण सुरु भएको ५३ महिनापछि सोमबार ‘ब्रेकथ्रु’ गरिएको हो। पूर्वतर्फ चन्द्रागिरि नगरपालिका काठमाडौं र पश्चिमतर्फ धुनीबेसी नगरपालिका धादिङ जोड्ने गरी सुरुङ निर्माण गरिएको हो। यो नेपालको पहिलो यातायात सुरुङ मार्ग हो।

सुरुङबाट सवारीसाधन सञ्चालन गर्न भने थप एक वर्ष लाग्ने आयोजनाले जनाएको छ। चन्द्रागिरि नगरपालिकाको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने नागढुंगा सुरुङमार्ग आयोजनाको मुख्य मार्गको लम्बाइ २ हजार ६ सय ८८ मिटर छ। सोमबार दुई मिटर खनेपछि सुरुङ वारपार छिचोलिएको हो। ०७६ कात्तिक ४ मा काठमाडौंतर्फको टुटीपाखामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङको शिलान्यास गरेका थिए। त्यसबेला आयोजना सक्न ४२ महिना लाग्ने भनिएपनि ५३ महिनापछि मात्र ‘ब्रेकथ्रु’ गरिएको हो।

२२ अर्ब रुपैयाँमा ठेक्का लागेको आयोजनामा जापानको साढे १६ अर्ब रुपैयाँ ऋण सहयोग छ। यसमा नेपाल सरकारको ६ अर्ब रुपैयाँ लगानी छ। सुरुङभित्र अब लाइटिङ, अक्सिजन जडान, सडक ढलानको काम बाँकी छ। बलम्बुदेखि सुरुङमार्ग प्रवेश गर्ने मुख टुटिपाखासम्म २.३०७ किमि दुई लेन सडक कालोपत्र हुनेक्रम जारी छ। सुरुङमार्ग निर्माणको काम जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले गरिरहेको छ।

 

 

तपाईको प्रतिक्रिया