Deneme Bonusu Veren Siteler
बुधबार, पौष १०, २०८१
Wednesday, December 25, 2024

काठमाडौं – आलु र प्याजको भ्याट विवादले होलसेल व्यवसायीले आयात र बिक्री बन्द गर्दा सर्वसाधारण उपभोक्ता मारमा परेका छन् । सरकारले बजेटमार्फत आयातित प्याज र आलुमा मात्रै भ्याट लगाउने भने पनि कार्यान्वयनका क्रममा स्वदेशी उत्पादनमा समेत भ्याट लगाएपछि कालीमाटी फलफूल तथा तरकारी बजारका व्यवसायीले हडताल गरेका हुन् ।

सरकारले आन्तरिक कृषि उपजमा लगाएको भ्याट फिर्ता गरेको लिखित रूपमा पत्र प्राप्त नहुँदासम्म बजारमा आलु र प्याज आपूर्ति र कारोबार नगर्ने व्यवसायीको अडान छ । सरकारले भ्याट लगाएर दुःख दिएको भन्दै व्यवसायीले आलु र प्याजको व्यापारमा हडताल गरेका छन् । व्यवसायीको हडतालका कारण बजारमा तीन दिनदेखि आलु र प्याज पाइन छाडेको छ । बजेटमा घोषणा हुँदा आयातित आलु र प्याजमा मात्रै भ्याट लाग्ने भनिए पनि अहिले आएर स्थानीय किसानसँग खरिद गरेको वस्तुको कारोबारमा समेत भ्याट जोडेर दुःख दिइएको व्यवसायीको आरोप छ ।

कालीमाटी फलफूल तथा तरकारी व्यवसायी संस्थाका सल्लाहकार उज्ज्जल कार्कीले भ्याटका कारण कारोबार गर्ने नसक्ने अवस्था आएपछि आलु र प्याजको कारोबार गर्न नसकिएको जानकारी दिए । व्यवसायीको फर्ममा अनुगमन गर्ने, कारबाही गर्ने चेतावनी दिने काम आन्तरिक राजस्व कार्यालय कालीमाटीबाट केही दिनपहिले भएको उनको आरोप छ । आन्तरिक उत्पादनमै जोडेर भ्याटको कारोबार हेर्न थालेपछि व्यवसायी तत्काल कारोबार नगर्ने अवस्थामा पुगेका भन्दै कालीमाटी तरकारी बजार व्यवसायी संस्थाका अध्यक्ष गीताप्रसाद आचार्यले भने, ‘कारोबार रोकेको नभई व्यापार नगर्ने भनेर आआफ्नो कारोबार बन्द गरेका छौँ ।’

चालु आर्थिक वर्षको बजेटमा सरकारले आलु र प्याजको कारोबारमा भ्याट ९मूल्य अभिवृद्धि कर १३ प्रतिशत० लगाउने निर्णय गरेको थियो । बजेटको यस्तो घोषणाको विरोध भए पनि सरकारले फिर्ता लिएको थिएन । देशैभरका व्यापारीले आलु र प्याजको कारोबार झन्डै तीन दिनदेखि रोकेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

बजारमा आलु तथा प्याज आयात नभएको र आलु तथा प्याजका स्टल खाली भएको समितिका सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिए । उनका अनुसार कालीमाटी बजारमा आलु र प्याज छैन तर व्यवसायीले आलु तथा प्याज बजारमा भित्र्याएका छैनन् । बजारमा आलु तथा प्याज नभएपछि बजार मूल्य पनि नतोकिएको बजार विकास समितिले जनाएको छ । समितिका अनुसार कालीमाटी बजारमा आलु तथा प्याजका थोक कारोबार गर्ने व्यापारीको सङ्ख्या करिब दुई सय रहेको छ ।

आलु तथा प्याज आपूर्तिकर्ताको विरोधका कारण बजारमा यसका भाउ मनपरी भएको छ । ठूला व्यापारीको हडतालका कारण खुद्रा बजारमा आलु र प्याज पाइएको छैन । ‘पाइहाले पनि महँगो मूल्य तिर्नुपर्छ । आलुको सिजन भए पनि होलसेलमा किलोकै ५० देखि ५५ रुपैयाँमा किन्नुपरेको छ । खुद्रामा बिक्री गर्दा धार्नीको १८० देखि २ सय रुपैयाँ छ,’ एक खुद्रा व्यापारीले भने, ‘सिजनमा आलुको भाउ सस्तो हुनुपर्ने हो । तर बजारमा सहजै पाइँदैन ।’

सरकार आलु र सुकेको प्याजमा भ्याट (मूल्य अभिवृद्धि कर) लगाइने विषयमा तत्कालका लागि मौन बस्ने सङ्केत गरेको छ । आन्तरिक राजस्व विभाग अन्तर्गतको कालीमाटीले यही साता आलु र प्याजका व्यापारीलाई भ्याटमा दर्ता हुन निर्देशन दिएसँगै चर्केको व्यवसायीको विरोधले यस विषयमा सरकारलाई मौन बस्नुपर्ने अवस्थामा पुर्‍याएको हो ।

आन्तरिक राजस्व कार्यालय कालीमाटीका सूचना अधिकारी काजीबाबु कोइरालाका अनुसार कानुनमा भएको व्यवस्था अनुसार आलु र प्याज भ्याट छुट हुनेमा नपरेकाले तिर्नुपर्ने हुन्छ तर तत्काल ‘एक्सन’ मा नजाने निर्णय भएको छ । बुधबार अर्थ मन्त्रालय र आन्तरिक राजस्व विभाग, आन्तरिक राजस्व कार्यालय कालीमाटी र आलु तथा प्याज व्यवसायीका प्रतिनिधिको सहभागिता रहेको थियो । छलफलका क्रममा भ्याटका विषयमा अहिलेलाई मौन बस्ने निर्णय भएकाले तत्काललाई एक्सनमा नजाने सूचना अधिकारी कोइरालाको भनाई छ ।

तपाईको प्रतिक्रिया