शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

‘बर्मा गए पनि कर्मसंगै’ भनिएझैं दशकौं विदेशमा बसेता पनि आफ्नो नेपाली पारा देखाईहाल्नुपर्ने स्वभावका हामी नेपाली जो छौं, बेला बेलामा छताछुल्ल हुने गरी पोखिदैं आईरहेका छौं । अघिल्लो महिना मात्र सम्पन्न एनआरएनएको एघारौ महाधिवेशनमा राजधानीको स्वल्टी होटलमा देखिएको चर्तिकलाले विदेशमा बस्ने सारा नेपालीहरुलाई लज्जित बनाएको छ । अर्कोतिर बिसौं वर्षको लगानी रहेको एनआरएनको भविष्य र अभियानमा प्रश्नचीन्ह लागेको छ । अभियानका नाममा कुर्सीमोह हाबी भईदिंदा अरु सबै ओझेलमा परेका छन् । शीर्षस्थ नेतृत्व तहमै रहेकाहरुमा पटक-पटक यस्तो समस्या देखिएपछि अरुबाट के अपेक्षा गर्न सकिएला ? आवरणमा मात्रै सुकिला, मुकिला र सुटेड, बुटेड भएर के गर्ने चिन्तनमा खोट भएपछि झाँक्रीहरुले हुर्मत लिने नै भए ।

अभियान धरापमा त यसै पर्‍यो नै त्यसको असरका कारण विदेशमा रहेको नेपाली समुदायमा पनि तलसम्म ध्रुबिकरण एवं विखण्डित हुने खतरा बढेर गएको छ । यो सबैभन्दा चिन्ताको बिषय हो । यसको जिम्मा कसले लिने ? विजयी भएको भनिएको बद्रि समुहले वा समानान्तर कमिटी घोषणा गरेको आरके समूहले ? यतिसम्म गिरेर लोक त नहँसाएको भए हुने । एउटा माघले जाडो जाने थिएन । खोट त दूबै समूहमा देखियो नि त, कुरो धेरै र थोरैको जो छ । विदेशमा बस्ने ८० लाख नेपालीहरुको छाता संगठनको नेतृत्व गर्न हिम्मत गर्ने एनआरएनका नेताहरुको अभियानकेन्द्रीत नभएर आत्मकेन्द्रीत साँगुरो सोंचका कारण यस्ता घटनाहरु बारम्बार दोहोरिने गरेका छन् । एनआरएन अभियानमा स्वीकार्यताको दायरा फराकिलो बनाउँदै लैजानुपर्नेमा झन झन साँगुरो पार्दै खुम्च्याउने काम जो भईरहेको छ, यो शुभ संकेत होईन ।

केही वर्ष यता जापानमा नेपालीहरुको संख्या तीब्ररुपमा बढ्दो छ । नेपालीहरुको संख्या बढेसंगै यहाँ समस्याहरु मात्रै नभएर समस्याका प्रकृतिहरु पनि बढ्दो छन् । केहि वर्ष अघिसम्म जापान प्रहरीले संदिग्धको घेरामा राखिएका दर्जनौ नेपाली युवाहरुको फोटो देखाउँदै उनीहरुको बारेमा सोधीखोजी गर्दै हिड्ने अवस्था थियो । पछिल्ला वर्षहरुमा यो क्रम केहि कमी आएको सर्बत्र महशुस गरिएको थियो । जापान प्रहरीको बुझाईमा नेपालीहरु भोजभतेर र पार्टीजन्य कार्यक्रम गर्न औधी मन पराउँछन् । उनीहरु झगडालु स्वभावका हुन्छन् । पार्टीमा मदिरासेवन गरेपछि आफुहरुबीच नै ग्याङफाइट गर्ने गर्दछन् । यो भनाई पूरै सत्य मान्न नसकिएला तर पूरै असत्य पनि होईन । पछिल्ला दिनहरुमा नेपालीहरुबीच झैं-झगडाका घटना फेरि बाक्लिन थालेका छन् । कुनै कुनै घटना एकैचोटी जापानको मिडियामा आएपछि मात्रै थाहा हुन्छ । अधिकाँश झगडाको कारण मदिरा सेवनबाट हुने गरेको अध्ययनहरुबाट पुष्टि हुन्छ । हामी सात समुद्रपारिको बिरानो देशमा एउटा निश्चित उद्देश्य बोकेर आएका छौं, यहाँको सोसाइटी, यहाँको कल्चर, यहाँको सिष्टम, यहाँको अनुशासन र यहाँको जीवनशैलीबाट हामीले सिक्नुपर्ने कुराहरु धेरै छन् । तर हामी भने आफु आफुमा झैं-झगडा गरेर दुनियाँलाई तमासा देखाईरहेका छौं । विदेशमा एकजना नेपालीले बाटो बिराउँदा सारा नेपाली लज्जित हुनुपर्दछ । यसप्रकारका घटनाबाट कालान्तरसम्म हरेक क्षेत्रमा नकारात्मक असर पर्न जान्छ । त्यसो भएको हुनाले आ-आफ्नो टोल-छिमेक, सर्कल, स्कुल, कलेज वा कम्पनीमा यसप्रकारका अवाञ्छित गतिविधि हुन नदिन समाजका जिम्मेवार अगुवाहरुको अघोषित निगरानीपूर्ण विशेष भूमिका अपेक्षित छ ।

विश्व आज ग्लोबल भिलेजमा रुपान्तरित भईरहेको सन्दर्भमा मानिस पुर्ख्यौली थातथलोबाट आफुले चाहेको ठाउँमा बसाई ससाई गर्न स्वतन्त्र छ, चाहेको मुलुकमा गएर अध्ययन, अनुसन्धान, ब्यापार, ब्यवसाय वा रोजगारी गर्न सक्छ । त्यसैअनुरुप नेपालीहरु आज विश्वका सयौं मुलुकहरुमा पुगेर आफ्नो जीवनलाई सहज बनाउन प्रयत्नशील छन् । सोहि अनुरुप उनीहरुले थातथलो फेरे, भेषभूषा फेरे, रहनसहन फेरे, जीवनशैली फेरे तर आनीबानी फेरेनन्, स्वभाव फेरेनन् । जसको परिणामस्वरुप विदेशमा पनि हामी नेपालीहरु जम्मा हुँदासाथ हामी आफ्नो पारा देखाईहाल्छौं, आफ्नो विशेषता जनाईहाल्छौं । हामी बदलिनुपर्थ्यो, बदलिएनौं । अब बदलिनुपर्छ, उज्यालोको पर्व दीपावलीको शुभकामना ।

 

तपाईको प्रतिक्रिया