शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

काठमाडौं – चीनमा उपचाररत नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासँग टेलिफोन संवाद् गरेका छन् । पुनले प्रचण्डसँग सोमबार र देउवासँग मंगलबार संवाद गरेको उनको सचिवालयले जनाएको छ ।

नेता पुनले संसदका झण्डै दुई तिहाई सदस्यले विश्वासको मत दिएकामा प्रधानमन्त्रीलाई बधाई दिए । दुवै नेतासँग उनले राजनीतिक स्थायित्व, संविधानको रक्षा तथा जनआकांक्षाअनुसार सुशासन, विकास र रोगजारी श्रृजना गर्ने गरी सरकार र सत्ता गठबन्धन अघि बढ्नुपर्ने बताए । ‘को प्रधानमन्त्री र को मन्त्री बन्न भन्ने कुरासँग जनतालाई त्यति धेरै चासो छैन’, पुनले भने, ‘व्यवस्था परिवर्तनका लागि राजनीतिक नेतृत्वलाई साथ दिएका जनता अर्थतन्त्रका सुधार तथा सुशासन, विकास, रोजगारी र आफ्नो अवस्थामा परिवर्तन चाहन्छन् ।’

देउवासँग पुनले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा एउटै एजेण्डा लिएर जनतामा गएका दलहरू एकै ठाउँ बस्ने वातावरण बन्नुले जनमतको सम्मान भएको भन्दै खुशी व्यक्त गरे । उनले प्रमुख २ नेता गठबन्धनका दलहरू मिलेर आगामी पाँच वर्षसम्म सहकार्य गर्नुपर्ने उल्लेख गरे । ‘हामीसँगै भएपछि चुनावमा गठबन्धन दललाई मत दिएका मतदाताको सम्मान भएको छ’, पुनले देउवालाई भने, ‘यसलाई सफला पार्न २ नेता र पार्टीले देश र जनातको भावनाअनुसार जनतालाई केन्द्रमा राखेर सहकार्य कसिलो कसिलो बनाएर अगिाडि जानुपर्‍यो ।’

जवाफमा देउवाले गठबन्धन ५ वर्षसम्म टिक्नेमा आफूहरूले आश्वस्त तुल्याउने बताए । ‘ढुक्कले यो गठबन्धन ५ वर्ष जान्छ । तपाईंहरू नआत्तिनुस् । हामी दुई नेताबीच आपसमा विश्वासको वातावरण बनाउँछौं’, देउवाले भने । प्रचण्ड र देउवा दुवैले पुनको स्वास्थ्यलाभको कामना गर्दै छिट्टै निको भएर फर्कन भनेका छन् ।

तपाईको प्रतिक्रिया