बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

काठमाडौं – नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले विद्युतीय सवारी साधन प्रयोग गर्न सबैलाई आह्वान गरेका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रवन्ध निर्देशक घिसिङले विद्युतीय सवारी साधन प्रयोग गर्न सबैलाई आह्वान गरेका हुन् ।

उनले विद्युतमा गरिएको लगानी सँगसँगै विद्युत खपत पनि बढाउने कार्ययोजना रहेकाले सोही अनुरुप विद्युतीय सवारी साधनहरु आइरहेका बताएका छन् । उनले पेट्रोल तथा डिजेलबाट चल्ने सवारी साधनहरुभन्दा विद्युतबाट चल्ने सवारी साधन कयौं गुणा सस्तो पर्ने दावी समेत गरे । त्यस्तै विद्युतीय सवारी साधनको प्रयोगले प्रदुषण पनि घट्ने भन्दै उनले विद्युतीय सवारी साधन प्रयोग गर्नुको फाइदा मात्रै भएको बताए । वातावरणीय र स्वास्थ्य सुरक्षाको दृष्टिले विद्युतीय सवारी साधन नै उपयुक्त भएको उनको भनाइ छ ।

उनले भने, ‘जुन किसिमले हाम्रो नेपालको क्लिन इलेक्ट्रिसिटी प्रमोशन भइरहेको छ, त्यसलाई कन्ज्युम्सन बढाउने । लगानी सँगै हाम्रो खपत बढाउने कार्ययोजना अन्र्तगत विद्युतिय सवारी साधनहरु आइरहेको छ, त्यसको लागि सबैलाई म आह्वान गर्छु विद्युतीय सवारी साधन प्रयोग गरिदिनुस् । सबैले विद्युतीय सवारी साधन प्रयोग गरौं । त्यसले दुईवटा काम गर्छ । एउटा, तपाई आफ्नै जसले प्रयोग गर्नुहुन्छ, त्यो उपभोक्ताले पनि एकदमै थोरै अपरेशन कस्टमा, विद्युतीय स्कुटरमा २५ पैसादेखि ३० पैसामा प्रति किलोमिटर कस्ट लाग्छ । जबकी पेट्रोल, डिजेलमा प्रतिकिलो मिटर १०-१२ रुपैयाँ पर्छ। र गाडीहरुमा प्रति किलोमिटर कस्ट चाहीँ एक रुपैयाँभन्दा कम छ विद्युतीय सवारीमा ।’ ६० पैसादेखि ९० पैसाको हाराहारीमा। जबकी पेट्रोल, डिजेलको १५-२० रुपैयाँ पर्छ । मेन्टेनेन्स कस्ट पनि एकदमै कम छ, किनभने इञ्जिन हुँदैन । रनिङ कस्ट नि कम छ, उपभोक्तालाई फाइदा छ ।’

उनले थपे, ‘पेट्रोल, डिजेलको गाडीले जुन प्रदुषण आइरहेको छ, काठमाडौं लगायत विभिन्न शहरहरुमा । विद्युतीय सवारी साधन चल्दाखेरी त्यो प्रदुषण पनि हट्छ । वातावरणको हिसावले, स्वास्थ्य सुरक्षाको हिसावले उपयुक्त सवारी साधन भनेको विद्युतीय सवारी साधन नै हो । यसले नेपाललाई क्लिन इनर्जी, कार्बन न्यूट्रलतिर लानलाई ठूलो सहयोग गर्नेछ । आगामी दिनमा सबैले विद्युतीय सवारी साधन प्रयोग गरौँ ।’

तपाईको प्रतिक्रिया