शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – पाकिस्तानको पेशावर शहरस्थित एक मस्जिदमा सोमबार विस्फोट हुँदा कम्तिमा २८ जनाको मृत्यु भएको छ भने १५० जना घाइते भएका छन् । मस्जिदमा दिउँसोको प्रार्थनाका लागि घुइँचो लागेका बेला विस्फोट भएको थियो । यो मस्जिद अफगानिस्तानको सीमावर्ती क्षेत्रमा पर्छ। विस्फोटको जिम्मा कसैले लिएको छैन ।

विस्फोटपछि धेरै मानिस मस्जिदको भग्नावशेषमा पुरिएकाले उद्धार र खोजी भइरहेको पेशावरका प्रहरी अधिकारी रियाज मेहसुदलाई उद्धृत गर्दै पाकिस्तानी सञ्चारमाध्यम द डनले उल्लेख गरेको छ । विस्फोटपछि शहरमा आपत्काल घोषणा गरिएको छ । घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको उनले बताएका छन् ।

अस्पताल पुर्‍याइएका अधिकांश घाइतेको अवस्था गम्भीर रहेको पेशावरस्थित ‘लेडी रिडिङ अस्पताल’की प्रवक्ताको भनाइ छ । विस्फोटअघि घटनास्थलनजिकै ४०० जति प्रहरी परिचालित रहे पनि सुरक्षा त्रुटि हुन गएको पेशावर शहरका प्रहरी अधिकृत मुहाम्मद इजाज खानको भनाइ छ ।

पाकिस्तानका प्रधानमन्त्री शेवाज शरीफले घटनाको निन्दा गरेका छन् । घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्रीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आक्रमणकारीको इस्लामसँग कुनै सम्बन्ध छैन । सम्पूर्ण मुलुक आतंकवादको विरोधमा छ ।’

इस्लामवाद प्रहरीले कडा सुरक्षा व्यवस्था लागू गर्न निर्देशन दिँदै पेशावर प्रवेश गर्ने र त्यहाँबाट बाहिरिने सबै सीमामा कडाइ गर्न भनेको छ ।

तपाईको प्रतिक्रिया