शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौँ – अर्को हप्ता रिलिज हुन लागेको बलिउडका सुपरस्टार शाहरुख खानको फिल्म ‘पठान’ केही साता अघिदेखि नै चर्चामा छ । यो फिल्मप्रति मानिसहरुको चासो हुनु अचम्मको कुरा होइन । शाहरुख खान भारत र विश्वका कैयौं देशमा सबैभन्दा ठूलो र मनपर्ने बलिउड स्टार हुन् ।

मानिसहरूले उनलाई आकर्षक, हास्यास्पद मात्र ठान्दैनन्, बलिउडलाई विदेशमा ठूलो पहिचान दिलाउन पनि उनको भूमिका निकै महत्वपूर्ण रहेको बताइएको छ । उनका फ्यान देशमा मात्रै नभएर विदेशमा पनि छन् र उनको लोकप्रियता फिल्ममा मात्र सीमित छैन । उनका फ्यानहरूले उनलाई ‘किंग खान’ वा ‘बलिउड किङ’ भन्ने गर्छन् । फिल्म पठानबाट चार वर्षको ब्रेकपछि पहिलो पटक शाहरुख खान फेरि एकपटक सिल्वर स्क्रिनमा देखिन लागेका हुन् ।

फिल्मलाई लिएर विवाद ?

तर फिल्म सुरुदेखि नै विवादमा परेको थियो ।शाहरुख विगतमा पनि प्रेस र समीक्षकको निशाना बनेका छन् । तर पछिल्लो समय देशमा बढ्दो धार्मिक असहिष्णुताबारे उनको टिप्पणीपछि उनी हिन्दू दक्षिणपन्थी समूहको निशानामा परेका छन् र उनीमाथि व्यक्तिगत तथा संगठित रूपमा आक्रमण भइरहेको छ ।

कोलकाता फिल्म फेस्टिभलमा शाहरुखले भने, ‘सिनेमा र अहिले सामाजिक सञ्जाल मानवीय अनुभव र भावनाहरू अभिव्यक्त गर्ने सबैभन्दा ठूलो माध्यम बनेको छ । सामाजिक सञ्जालले अहिले हाम्रो समयको सामूहिक कथालाई आकार दिइरहेको छ । नकारात्मक रूपमा, मलाई लाग्छ सिनेमाले अब अझ महत्त्वपूर्ण भूमिका खेल्नुपर्छ ।’ केहि विश्लेषकले भने ठुलो फिल्म रिलिजको बेला हुने यस्ता विवाद स्वाभाविक भएको र कतिपय विवाद जानी जानी समेत गराइने र त्यसको फाइदा फिल्मलाई हुने बताउदै आएका छन् ।

यो फिल्म मुस्लिम शब्दको नाम ‘पठान’ लाई लिएर चर्चामा थियो । कट्टरपन्थी हिन्दू समूहले पनि फिल्मको गीत ‘बेशरम रंग’को विरोध गर्दै सामाजिक सञ्जालमा आलोचना गरेका छन् । यो गीतमा दीपिका पादुकोणले केशरी रङको बिकिनी लगाएकी छिन्, जसको हिन्दुवादी संगठनहरुले विरोध गरिरहेका छन् ।

केशरी रङ हिन्दू धर्मसँग जोडिएको देखिएकाले शाहरुखले हिन्दूहरूको अपमान गरेको उनीहरुको आरोप छ । तर ‘पठान’ को रिलिज मिति नजिकिदै गर्दा शाहरुख र फिल्ममेकरहरु विवादलाई बेवास्ता गर्दै यसको प्रचारमा व्यस्त छन् ।प्रचारको क्रममा यस फिल्मको ट्रेलरलाई दुबईको बुर्ज खलिफामा देखाइएको थियो, त्यसपछि त्यहाँ उपस्थित ठूलो भीडले शाहरुखलाई बधाई दिएका थिए । साढे दुई अर्बको बजेटको फिल्म ‘पठान’ले शाहरुखको प्रतिष्ठा दाउमा लागेको छ । विवाद र बहिष्कार अभियानका बिचमा रिलिजको मिति नजिकिदै गर्दा यो फिल्मले कति कमाई गर्छ भन्ने विषयमा धेरै विशेष चासो छ ।

 

तपाईको प्रतिक्रिया