बिहिबार, जेठ ०३, २०८१
Thursday, May 16, 2024

काठमाडौं । श्रीलंकलाई हराउँदै नेपाल समूह विजेता बनेर साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ को अन्तिम खेलमा नेपालले श्रीलंकालाई ६-० को फराकिलो अन्तरले हरायो ।

नेपाललाई जिताउन अमिसा कार्कीले २ गोल गरिन् । यस्तै रश्मीकुमारी घिसिङ, सरु लिम्बु, अमृता जैशी र दीपा शाहीले एक एक गोल गरेका हुन् । खेलको आठौं मिनेटमा अनिता बस्नेतको पेनाल्टी बक्स बाहिरको प्रहार गोलरक्षकले बचाइन् । लगत्तै नवौं मिनेटमा रश्मीकुमारी घिसिङको गोलबाट नेपालले सुरुवाती अग्रता लिन सफल भयो । हीरा कुमारी भुजेलको क्रसलाई रश्मीले हेडरमार्फत जाली चुमाए ।

११औं मिनेटमा सरु लिम्बुको गोलबाट नेपालले अग्रता दोब्बर पार्यो । उनले अमृता जैशीको क्रसलाई सरुले हेडरमार्फत जाली चुमाइन् । १७औं मिनेटमा अमृता जैशीले गोल गर्दै नेपाललाई ३–० ले अघि बढाइन् । उनले अनिता बस्नेतको कर्नरलाई हेडरमार्फत नै जाली चुमाइन् । २९औं मिनेटमा गोललाइन नजिकै नेपालले सुवर्ण अवसर पाएपनि रेखा पौडेल र अनिताबीच तालमेल नमिल्दा गोल निस्कन सकेन । ३५औं मिनेटमा अनिताको कर्नरमा हीराको प्रहार श्रीलंकाका गोलरक्षक योहानी विरसिंगेले बचाइन् । लगत्तै श्रीलंकाली डिफेन्डरको क्लिअरेन्स टप कर्नरमा लागेर फर्कदा नेपालले थप अग्रता बढाउन सकेन ।

इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा दीपा शाहीले गोल गर्दै नेपाललाई पहिलो हाफमा ४–० को अग्रता दिलाइन् । ५५औं मिनेटमा दीपा शाहीको बक्सबाहिरको प्रहार क्रसबारबाट थोरै बाहिरियो । ६३औं मिनेटमा सरु लिम्बुको क्रसमा अनिता बस्नेतको प्रहार पहिलो बार च्याप्दै बाहिरियो । ७७औं मिनेटमा परिवर्तित खेलाडी अमिशा कार्कीले गोल गर्दै नेपाललाई ५–० ले अघि बढाइन् । विपक्षी डिफेन्डरको कमजोर डिफेन्सको फाइदा उठाउँदै नजिकै रहेका अमिशाको चिप प्रहार गोलमा परिणत भयो । अमिशा ५५औ मिनेटमा रेखा पौडेलको स्थानमा मैदान प्रवेश गरेकी थिइन् ।

८४औं मिनेटमा अनिता केसीको क्रसमा रश्मीले सुवर्ण अवसर पाएपनि उनले ढिला गरि गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरियो । इन्ज्युरी समयम अमिशाले एकल प्रयासमा सुन्दर गोल गरिन् । गोलरक्षक र डिफेन्सको चुनौती चिर्दै उनले उत्कृष्ट फिनिस गरेकी थिइन् । समूह ‘बी’ मा नेपालले दुई खेलबाट ६ अंक जोड्यो । भुटानले ३ तथा श्रीलंका अंक विहीन बन्यो । नेपालले यसअघि पहिलो खेलमा भुटानलाई ४–० ले हराउँदा भुटानले श्रीलंकालाई ५–० ले हराएको थियो ।

तपाईको प्रतिक्रिया