बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उप मेयर सुनिता डंगोलले महिला राष्ट्रिय फुटबल टोलीलाई साफ च्याम्पियनसिपमा सफलताको शुभकामना दिएका छन् ।

मेयर शाह र उपमेयर डंगोल टोलीका खेलाडीलाई शुभकामना दिन शुक्रबार बिहान टोली बसेको होटल पुगेका थिए । ‘मेयर र उप मेयर बिहान साढे ८ बजेको आसपासमा होटल आउनु भएको थियो,’ राष्ट्रिय टोलीकी व्यवस्थापक विन्द्रा देवानले भनिन्, यसपटक च्याम्पियन बन्नुपर्छ भनेर शुभकामना दिनुभयो । सिनियर खेलाडीहरुसँग केहि समय कुराकानी गर्नुभयो । उहाँहरुको शुभकामनाले टोलीको हौसला थप बढ्नेछ ।’

दक्षिण एसियाका सातै राष्ट्रको सहभागितामा साफ च्याम्पियनसिपको छैटौं संस्करण दशरथ रंगशालामा जारी छ ।च्याम्पियनसिपमा नेपालसँगै भारत र बंगलादेशले विजयी सुरुवात गरेका छन् । भदौ २१ गते भएको उद्घाटन खेल नेपालले भुटानलाई ४–० ले हराएको थियो । सो खेल हेर्न मेयर शाह र उपमेयर डंगोल पनि रंगशाला पुगेका थिए । समूह बीमा रहेको नेपालले अर्को खेल भदौ २७ गते श्रीलंकासँग खेल्नेछ । अर्को समूहमा साविक विजेता भारतसहित बंगलादेश, पाकिस्तान र माल्दिभ्स रहेका छन् ।

चौथोबाहेक सबै संस्करणको फाइनलमा नेपाल र भारतबीच प्रतिस्पर्धा भएको थियो । सन् २०१६ मा भएको चौथो संस्करणमा भने नेपाल सेमिफाइनलबाट बाहिरिएको थियो । नेपाल अहिले सम्म साफ च्याम्पियनसिप जित्न सकेको छैन । भारत पाँचै संस्करणको च्याम्पियन हो ।

 

तपाईको प्रतिक्रिया