बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

काठमाडौँ – जबरजस्ती करणीको मुद्दामा आफूविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै नेपाली क्रिकेट टिमका निवर्तमान कप्तान सन्दीप लामिछाने स्वदेश फर्कने भएका छन् । उनले सामाजिक सञ्जालमार्फत कानुनको सम्मान गर्दै क्यारेबियन प्रिमियर लिग (सिपिएल) बाट बिदा हुँदै स्वदेश फर्कने जनाएका हुन् ।

लामिछानेले आफू निर्दोष भएको र घटनाको निष्पक्ष छानबिन हुनेमा विश्वस्त रहेको पनि उल्लेख गरेका छन् । ‘म निर्दोष छु । सिपिएलबाट बिदा लिएर केही दिनभित्र स्वदेश फर्कँदैछु । यी सबै आधारहीन आरोपको सामना गर्न तयार छु,’ सन्दीपले सामाजिक लेखेका छन्, ‘सही र गलत के हो निष्पक्ष छानबिन हुनेमा विश्वस्त छु । आशा छ कानुनले समान काम गर्नेछ ।’

मंगलबार साँझ १७ वर्षीया किशोरीले प्रहरी वृत्त गौशालामा उनीविरुद्ध जबरजस्ती करणीको जाहेरी दिएकी थिइन् । सन्दीपले केन्या जानुअघि ५ भदौमा आफूलाई जबरजस्ती करणी गरेको भन्दै ती किशोरीले प्रहरीमा जाहेरी दिएका हुन् ।

किशोरीको जाहेरी लगत्तै प्रहरीले घटनाको विषयमा सुक्ष्म तरिकाले अनुसन्धान अगाडि बढाएको छ । प्रहरीका अनुसार पीडित भनिएकी किशोरी र सन्दीप बसेको होटलको सीसीटीभी फुटेज पनि संकलन भइसकेको छ । अदालतले पक्राउ गर्न अनुमति दिएसँगै नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार सन्दीपलाई नेपाली क्रिकेट टोलीबाट निलम्बनसमेत गरिसकेको छ ।

तपाईको प्रतिक्रिया