सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

काठमाडौँ – बेइजिङमा आधारित स्पेस यात्रासम्बन्धी कम्पनी लिङकङ टिआनशिङले प्रति सेकेन्ड १.६ किलोमिटरको गतिमा यात्रा गर्नसक्ने सम्भावना बोकेको व्यावसायिक हवाई यात्रा विकसित गरिरहेको छ । यो भनेको चीनको शाङ्घाई सहरबाट अमेरिकाको न्युयोर्कसम्म दुई घण्टामै पुग्न सकिने गति हो ।

हाइपरसोनिक विमान भनेको आवाजको गति भन्दा पाँच गुणा तेज रफ्तारमा यात्रा गर्न सकिने उडान हो ।

सो फर्मले अहिले नै प्रचारका लागि आकर्षक एनिमेटेड भिडियो सार्वजनिक गरिसकेको छ, जसमा यात्रुहरूले हेल्मेट या स्पेससुट नलगाई १२ वटा सिट भएको विमानमा यात्रा गरिरहेका छन् । यसको गति बढाउन दुईवटा ‘टाइटेनिक बुस्टर’ रकेट जडान गरिएको छ ।यो विमान प्रति घण्टा ७ हजार किलोमिटरसम्म यात्रा गर्न सक्ने छ ।

कम्पनीको वेबसाइटकाअनुसार यसको पहिलो परीक्षण उडान अबको तीन वर्षमा सम्पन्न हुनेछ जसपछि २०३० सम्म आइपुग्दा विमानले पूर्ण रूपमा हाइपरसोनिक उडान सञ्चालन गर्ने छ ।

यसरी हाइपरसोनिक उडानप्रति विश्वमा बढ्दो आकर्षण छ, जुन रेसमा चीन पनि पछि पर्न नचाहेको स्पष्ट देखिन्छ । यसमा चिनियाँ सरकारबाट उल्लेखनीय लगानी हुने हुनाले पनि यस्ता परियोजना अन्य राष्ट्र भन्दा त्यहाँ छिटो सम्पन्न हुन सक्ने अनुमान गरिएको छ जसले चीनलाई यो हाइपरसोनिक दौडमा अग्रता दिलाउने छ ।

गत अगस्टमा मात्र शाङ्घाईको लगानीकर्ता मेट्रिक्स पार्टनर्स चाइना र सरकारको स्वामित्वमा रहेको शाङ्घाई गोसेङ ग्रुपले यसका लागि सुरुवाती ४ करोड ७० लाख डलरको आर्थिक कोष खडा गरेका थिए ।

तपाईको प्रतिक्रिया