सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

काठमाडौं – रुसको एन्टीभाइरस सफ्टवेयर क्यासपरस्कीलाई एक पछि अर्को गर्दै विभिन्न देशले प्रतिबन्ध लगाउने सक्ने देखिएको छ । जसको पछिल्लो कदम इटाली सरकारले चालेको छ । एन्टीभाइरस सफ्टवेयरमार्फत कम्प्युटरमा पहुँच बनाई सरकारी तथ्याङ्क ह्याक गर्न सक्ने डरका साथ इटालीले क्यासपरस्कीलाई प्रतिबन्ध लगाउने तयारी गरेको हो ।

सरकारका सुरक्षा उपसचिव फ्रयान्को ग्याब्रिअलीले सरकार आफूमातहतका निकायलाई अन्य एन्टीभाइरस सफ्टवेयर प्रयोग गर्ने अधिकार दिने तयारीमा रहेको बताए । यसअघिसम्म इटालीको सरकारी निकायमा क्यासपरस्की एन्टीभाइरलाई मात्रै स्वीकृत दिइएको थियो ।

यसैबीच क्यासपरस्कीका प्रवक्ताले समेत इटाली सरकारबाट एन्टीभाइरसको विषयमा छलफलको लागि बोलाइएको बताएका छन् । उनले यो विषयमा आफूहरू कुरा गर्न तयार रहेको समेत बताएका छन् ।

पछिल्लो केही समय देखी रुस र युक्रेनबीच जारी अवस्थालाई लिएर इटालीले यो खालको निर्णय गर्ने तयारी गरेको बुझिएको छ । यसअघि जर्मन, इजरायल सरकारले पनि क्यासपरस्कीलाई प्रतिबन्ध गर्न सक्ने बताइ सकेका छन् ।

तर, यो विषयमा क्यासपरस्कीले भने आफूहरू पूर्णरुपमा निजी कम्पनी भएको र प्रयोगकर्ताको सुरक्षा कम्पनीको प्रमुख प्राथमिकताको विषय रहेको बताउँदै आएका छन् । साथै उनीहरूले यसरी प्रोडक्टमाथिको प्रतिबन्धले उल्टै त्यहाँको सिस्टममा सुरक्षा चुनौती थपिन सक्ने समेत उल्लेख गरेका छन् ।

हुन त इटालीका साइबर सुरक्षा एजेन्सीहरूले क्यासपरस्कीले डेटा संकलन गरिरहेको तथा ह्याक गर्न सक्ने चुनौतीको विषयमा केही जानकारी दिएका छैनन् । तर, इजरायली साइबर सेक्युरिटी कम्पनीहरूले भने रसियाले क्यासपरस्कीमार्फत जासुसीको काम गरिरहेको बताउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया