बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

टोकियो – गलकोट स्पोर्ट्स क्लब जापानले आफ्नो आठौँ वार्षिकोत्सवको अवसरमा सातौँ सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिता २०२२ गर्ने भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मान्यता राखेर स्थापना भएको क्लबले वार्षिक रूपमा गर्दै आएको खुल्ला पुरुष भलिबल प्रतियोगिता अप्रिल १८ तारिख सोमबारका दिन टोकियोको ओता कु सोउगो ताइइकुकानको कामतामा गर्न लागेको हो ।

क्लबले नेपालको राष्ट्रिय खेल भलिबललाई प्रवासमा रहेरपनि संरक्षण प्रवर्द्धन र खेलाडी र खेलको विकासका लागि विगत ७ वर्षदेखि निरन्तर रूपमा सञ्चालन गरिँदै आएको महासचिव हिमाल कँडेलले जानकारी दिए । उनकाअनुसार प्रतियोगिताको प्रथम पुरस्कार ३ लाख १० हजार येन, प्रमाणपत्र सिल्भर कप र मेडल प्रदान गरिनेछ । द्वितीय पुरस्कारको रूपमा २ लाख १० हजार येन नगद, प्रमाणपत्र कप र मेडल तथा सान्त्वना पुरस्कार दुई टिमलाई ५५,५५५ येन र प्रमाण पत्रका दरले प्रदान गरिने क्लबका अध्यक्ष डिलाराम निउरेले जानकारी दिए ।

खुल्ला पुरुष भलिबल प्रतियोगिता रहेकोले नेपालबाट जापानमा आएका तोकिएको नियम पुरा भएका हरेक टिमले अफिसियलसहित १२ जना खेलाडीसहित खेलमा सहभागी हुन पाउने र दर्ता शुल्क चार मान अर्थात् चालिस हजार येन रहेको अध्यक्ष निउरेले बताए । नेपालको राष्ट्रिय खेल भलिबललाई परदेशको भूमिमा रहेर पनि प्रवर्द्धन र विकास गर्नु हाम्रो पनि दायित्व हो भन्ने ठानेर साथै खेलकुदको माध्यमबाट प्रवास तथा स्वदेशमा रहेका खेलाडीहरूलाई जोड्दै समग्र खेल क्षेत्रको विकाश गर्ने उद्देश्य राखी नेपाली नयाँ वर्षको अवसरमा खुल्ला मैत्रीपूर्ण रनिङ सिल्भर कप आयोजना गर्दै आइरहेको सचिव दिनेश थापाले बताए ।

यस वर्ष पनि सोही कार्यक्रमलाई निरन्तरता दिँदै जापान सरकारबाट कोरोना रोकथाम तथा न्यूनीकरणका लागि तोकिएका सम्पूर्ण मापदण्ड पुरा गरी सातौँ वार्षिकोत्सव सहित प्रतियोगिता सञ्चालन गरिने महासचिव कँडेलको भनाई छ । खेलाडीको हौसला र खेलकुदमार्फत अनुशासनको संस्कृति विकासका लागि वेस्ट प्लेअर, वेस्ट स्पाइकर, वेस्ट सटर, वेस्ट डिफ़ेन्सर, वेस्ट सर्भिसर सहित ५ विधामा खेलाडीहरूलाई पुरस्कृत गरिने र प्रतियोगिताको टाईसिट मार्च १७ तारिख पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने जानकारी खेलकुद संयोजक गणेश खत्रीले जानकारी दिए ।

कार्यक्रम व्यवस्थित रूपमा सञ्चालन गर्नका लागि अध्यक्ष निउरेको संयोजकत्वमा मूल आयोजक समिति रहने गरी विभिन्न उपसमिति बनाई कार्य विभाजन समेत गरिएको छ। जसमा आर्थिक समिति, प्रचार प्रसार समिति, हल व्यवस्थापन समिति, खेलाडी व्यवस्थापन, खानारपानी व्यवस्थापन, अतिथि व्यवस्थापन, रेफ्रीरएम्पाएर एवं खेल सामग्री संयोजन उपसमिति रहेका छन् । प्रतियोगिता बिहान ९ बजेदेखि 144-0031 Tokyo to Ota ku Sougo Taiikukan 1-11-1 Higasikamata ota city मा सुरु हुनेछ ।

तपाईको प्रतिक्रिया