मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

काठमाडौं – अमेरिकाले संयुक्त अरब इमिरेट्स (यूएई) लाई लडाकु विमान र मिसाइल (क्षेप्यास्त्र) नस्ट गर्ने युद्धपोत पठाउने भएको छ । अमेरिकाले यमनका विद्रोहीहरूको आक्रमणको विरुद्ध यूएईको सहयोगका लागि युद्ध विमान र फाइटर जेट पठाउने भएको हो ।

अमेरिकाका रक्षा मन्त्री लायड अस्टिन र यूएईका क्राउन प्रिन्स (राजकुमार) मोहम्मद बिन जायेद अल नहयानबीच फोनमा भएको वार्तामा अमेरिकाले यस्तो निर्णय गरेको बीबीसीले जनाएको छ । अमेरिकी रक्षा मन्त्रालयको तर्फबाट निकालिएको विज्ञप्तिमा दुवै नेताले हुथी विद्रोहीहरूको पछिल्लो आक्रमणको बारेमा चर्चा गरेका बताइएको छ । त्यो आक्रमणमा यूएईका केही नागरिकको ज्यान गएको थियो ।

हुथी विद्रोहीहरूको आक्रमणका कारण अमेरिका र यूएईका सैनिकको सुरक्षामाथि पनि प्रश्न उठेको पेन्टागनले भनेको छ । अमेरिका यूएईसँग आफ्नो रणनीतिक साझेदारीलाई लिएर प्रतिबद्ध रहेको रक्षा मन्त्री लायड अस्टिनले जोड दिएका छन् ।

अमेरिकी रक्षा मन्त्रालयका अनुसार अमेरिकाले मिसाइल नस्ट गर्ने युद्धपोत यूएसएस कोल यूएई पठाउनेछ, जसले त्यहाँको जलसेनासँग मिलेर काम गर्नेछ । अमेरिकी रक्षा मन्त्रीले यूएईका राजकुमारलाई अमेरिकाले सहयोगका लागि फाइटर एअरक्राफ्ट पनि जुटाइरहेको जानकारी दिएका छन् । गएको महिना यूएईमाथि हुथी विद्रोहीहरूले ड्रोन आक्रमण गरेका थिए, जसमा तीन जनाको ज्यान गएको थियो ।

तपाईको प्रतिक्रिया