काठमाडौं – ललितपुरको चर्चित टिम थ्रीस्टार क्लबले जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगमा तेस्रो जित हात पारेको छ । आइतबार दशरथ रंगशालामा भएको खेलमा हिमालयन शेर्पा क्लबविरुद्ध थ्रीस्टारले २–० को जित निकालेको हो । एक आत्मघाती गोल र अन्तिममा १० मिनेट थपिएको इन्जुरी समयमा भएको गोलले थ्रीस्टारले जित हात पार्यो ।
खेलको ५७ औं मिनेटमा ऋतिकको फितलो प्रहार अमित श्रेष्ठको खुट्टामा लाग्दै गोल भएको थियो । उक्त आत्मघाती गोलको सहयोगमा थ्रीस्टार खेलमा १–० को अग्रतामा पुगेको थियो । त्यसपछि अन्सुमाना क्रोमाहले इन्जुरी समयमा गोल गरेपछि थ्रीस्टारको जित सुनिश्चित भएको थियो ।
थ्रीस्टारको जारी लिगमा यो तेस्रो जित हो भने लगातार दोस्रो जित पनि हो । अघिल्लो सातौं चरणमा थ्रीस्टारले जावलाखेललाई २–१ ले हराएको थियो । यसअघि, पहिलो चरणमा थ्रीस्टारले च्यासललाई ३–० ले हराएको थियो ।
यो नतिजापछि थ्रीस्टारको ८ खेलबाट १३ अंक भएको छ र पाँचौं स्थानमा उक्लिएको छ । थ्रीस्टार शीर्ष स्थानको टिम मच्छिन्द्र क्लब भन्दा ६ अकंले पछि छ । योसँगै थ्रीस्टारको उपाधि आशा जीवितै रहेको छ । थ्रीस्टारले ४ खेल बराबरी खेलेको छ भने एक खेलमा हार बेहोरेको छ । उक्त हार जारी लिगकै स्तब्ध नतिजा पनि हो । नवप्रवेशी टिम सातदोबाटो युथ क्लबसँग थ्रीस्टार दोस्रो चरणमा १–० ले स्तब्ध बनेको थियो ।
थ्रीस्टारले मच्छिन्द्र, मनाङ, संकटा, ब्रिगेड ब्वाइज र पुलिससँग खेल्न बाँकी छ । उता हिमालयन शेर्पाको यो जारी लिगमा तेस्रो हार हो । यो हारपछि हिमालयन शेर्पा ८ खेलमा ११ अंकसहित छैटौं स्थानमा झरेको छ । टिमले ३ खेलमा जित हात पारेको छ भने २ खेलमा बराबरी नतिजा आत्मसात् गरेको छ ।