आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

प्रतीकात्मक तस्बिर

काठमाडौं – एक अमेरिकी स्कूल शिक्षिका उडिरहेको विमानमा कोरोना पोजेटिभ भएपछि विमानको शौचालयमा सेल्फ-आइसोलेसनमा बसेकी छन् । डिसेम्बर २० मा मारिसा फोटियो शिकागोबाट आइसल्याण्डको रेक्जाभिक जाने क्रममा विमानमै आइसोलेसनमा बस्नु परेको बताएकी छन् ।

कोरोना परिक्षण गरेर विमानमा चढेपनि विमान उडेको केहिसमयमा उनले आफ्नो घाँटी दुखेको महसुस गरेको बताएकी छन् ।

त्यसपछि फोटियोले आफूसँग ल्याएको किटबाट एन्टीजेन परीक्षण गर्दा उनी संक्रमित भएको पुष्टि भएको थियो ।

उनले आफ्नो बाँकी करिब ५ घण्टाको यात्रा शौचालयमा बिताएको र उडान परिचारकले उनलाई खाना र पेय पदार्थ दिएको बताएकी छन् ।

उनले भनेकी छन्- ‘यो अलग अनुभव थियो, उडानमा १५० जना थिए, र मेरो सबैभन्दा ठूलो डर उनीहरूलाई नसरोस भन्ने थियो ।’

आइसल्याण्ड एयरको जेटको शौचालय भित्रबाट उनले टिकटकमा पोस्ट गरेको भिडियो ४० लाखभन्दा बढी पटक हेरिएको छ । उनले परीक्षाको समयमा उनलाई सहयोग गरेकोमा एक उडान परिचरको प्रशंसा गरेकी छन् ।

फोटियोले आइसल्याण्ड आइपुगेपछि रेडक्रसको होटलमा आइसोलेसनमा बस्नुपरेको बताइन् ।

यूएस सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका ट्र्याकरका अनुसार सात दिनको दैनिक औसत नयाँ केसहरू अमेरिकामा २ लाख ७७ हजार देखिएको छ, जुन महामारीको सुरुवातदेखिकै उच्च स्तर हो ।

संक्रमणका कारण आइसोलेसनमा बस्नु पर्ने बढ्दो संख्याले हवाई यात्रालगायत धेरै उद्योगहरूलाई दबाब बढाएको छ ।

तपाईको प्रतिक्रिया