शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

काठमाडौं – जापानका विदेशमन्त्री कामिकावा योको आइतबार औपचारिक भ्रमणका लागि नेपाल आइपुग्दैछन् । जापानबाट नेपालमा सन् २०१९ पछि छ वर्षको अन्तरालमा यो उच्चस्तरीय भ्रमण हुन लागेको हो ।

सन् २०१९ मा जापानका तत्कालीन विदेशमन्त्री तारो कोनोले नेपालको दुईदिने भ्रमण गरेका थिए । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा जापानका विदेशमन्त्री योको नेपाल भ्रमणमा आउन लागेकी हुन् । उनले आजै उच्चस्तरीय भेटावार्ता गर्ने तय भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेट गर्नेछन् ।

परराष्ट्रमन्त्री श्रेष्ठसहितको नेपाली प्रतिनिधि मण्डल र जापानका विदेशमन्त्री योकोसहितको जापानको उच्चस्तरीय प्रतिनिधि मण्डलबिच द्विपक्षीय भेटवार्ता हुने तय भएको प्रवक्ता अमृतबहादुर राईले बताए । त्यसक्रममा दुई देशबिचको आपसी सम्बन्ध विस्तारसँगै आगामी साझेदारीलाई वृद्धि गर्न थप केही सम्झौता हुने सम्भावना रहेको मन्त्रालयले जनाएको छ । विदेशमन्त्री कामिकावा आजै साँझ स्वदेश फर्कने कार्यक्रम छ ।

जापानको प्रभावशाली नेतृत्वका रूपमा उदाएकी विदेशमन्त्री योको जापानको तेस्रो महिला विदेशमन्त्री हुन् । सन् २००७ मा तत्कालीन प्रधानमन्त्री सिन्जो आबेको सरकारमा उनी पहिलो पटक लैङ्गिक समानता तथा सामाजिक मामिला राज्यमन्त्री भएकी थिइन् । त्यसपछि सन् २००८ मा यासुओ फुकादा प्रधानमन्त्री हुँदा सार्वजनिक तथ्याङ्क व्यवस्थापन तथा राष्ट्रिय अभिलेखालयमन्त्री भइन् । त्यसपछि सिन्जो आबेकै दोस्रो कार्यकालको सरकारमा उनले चार पटक र सन् २०२० मा प्रधानमन्त्री योसिहिदे सुगाको कार्यकालमा एक गरी पाँच पटकसम्म न्यायमन्त्रीको पदभार सम्हालिन् ।

सन् २०२१ मा नयाँ प्रधानमन्त्री फुमियो किसिदाको कार्यकाल सुरु भएयता कामिकावा गत वर्ष जापानको विदेशमन्त्रीमा नियुक्त भएकी हुन् । उनी सन् २००० यता भएकामध्ये एउटाबाहेक हरेक पटकको आमनिर्वाचनमा निर्वाचित हुँदै जापानी संसद्मा चयन हुँदै आएकी हुन् ।

तपाईको प्रतिक्रिया