काठमाडौँ – सिनियर ६ खेलाडीमाथि गरिएको कारबाहीप्रति नेपाल क्रिकेट संघ (क्यान) को ६ जना केन्द्रीय सदस्यहरूले खुलेरै विरोध र असन्तुष्टि जनाएका छन् । बोर्डका ६ जना पदाधिकारीले बुधबार आयोजना गरी बहुमतका आधारमा भएको कारबाहीप्रति आपत्ति जनाएका छन् । क्यानका केन्द्रीय सदस्य छुम्बी लामा, अमितवीर पाण्डे, ऋषिराम गौतम, करण महतरा, मोहम्मद दाउद अन्सारी र सञ्जयराज सिंहले संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै क्यानको काम र निर्णयप्रति विरोध जनाएका हुन् ।
क्यान कार्यसमितिले गत साता तत्काल कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी तथा कमलसिंह ऐरीमाथि अनुशासनको कारबाही गरेको थियो । कार्यसमितिले ज्ञानेन्द्र र दीपेन्द्रसिंहका पद खोसेको थियो । साथसाथै ज्ञानेन्द्र, दीपेन्द्रसिंह सोमपाल र कमलसिंहका २०२२ को प्रारम्भिक खेलाडी सम्झौताबापत पाउने ६ महिनाको मासिक पारिश्रमिक नपाउने निर्णय गरेको थियो ।
‘खेलाडीको कारबाही नियोजित तरिकाले भयो, हामीले खेलाडीको कारबाहीको विषयमा सहमति जनाएका थिएनौँ,’ केन्द्रीय सदस्य लामाले भने, ‘बोर्डले हामी सदस्यलाई अनुशासन छानबिन कमिटीले तयार पारेको प्रतिवेदनसमेत हेर्न दिएन ।’ असन्तुष्ट पदाधिकारीहरूले पत्रकार सम्मेलनमा क्यानभित्र केही व्यक्तिहरू आफूखुुसी प्रस्ताव ल्याउने र खासै छलफल नगरी निर्णय हुने गरेको दाबी गरेका छन् ।
‘कार्यसमितिको बैठकमा एजेन्डा आफूखुसी प्रस्ताव ल्याएर छलफल गर्ने, निर्णय पनि आफ्ना अनुकूलतामा लेख्ने हुने गर्छ,’ पत्रकार सम्मेलनमा लामाले भने, ‘कतिपय निर्णय छलफल नहुँदै पास हुने गर्छ ।’ बोर्डले पास गरको केही निर्णय विज्ञप्ति वा मिडियाबाट थाहा पाउनुपर्ने अवस्था रहेको लामाको भनाइ छ । ‘केही पदाधिकारीहरूले अन्य सदस्यलाई समेत जानकारी नदिई निर्णय गर्छन्, जुन हामीले पछि विज्ञप्तिमार्फत थाहा पाउछौँ,’ उनले भने ।