काठमाडौँ — इंग्लिस प्रिमियर लिगमा लिभरपुलले बिहीबार न्युकासल युनाइटेडलाई ३–१ ले हराएको छ र त्यसमा मोहमद सलाहले सिजनको व्यक्तिगत २२औं गोल गरे ।न्युसकालले जोन्जो साल्भीको गोलले अग्रता लिएयता लिभरपुलका लागि डिएगो जोटा, सलाह र ट्रेन्ट एलेक्जान्डर आर्नोल्डले गोल गरे ।
यसै खेलका क्रममा सलाहले जेमी भार्डीको नाममा रहेको लिगका लगातार १५ खेलमा गोल अथवा गोलका लागि सहभागी भूमिकाको कीर्तिमान बराबरी गरेका छन् । यो जितपछि लिभरपुलको ४० अंक भएको छ र दोस्रो स्थानमा छ । लिभरपुल शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीबाट खालि एक अंकको दूरीमा छ ।
बिहीबारकै अर्को खेलमा तेस्रो स्थानमा रहेको चेल्सीले एभरटनविरुद्ध १–१ को बराबरी खेलेको छ । चेल्सी यो नतिजापछि ३७ अंकमै सीमित रह्यो । चेल्सीका लागि मेसन माउन्टले गोल गरेलगत्तै एभरटनका तर्फबाट जरार्ड ब्राइटवेटले बराबरी गोल फर्काए । चेल्सीको ३७ अंक भएको छ भने एभर्टन १९ अंकमा १४ औं स्थानमा छ ।