शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – विद्युतीय कार निर्माण गर्ने आफ्नो योजनाबारे एप्पलले धेरै जानकारी सार्वजनिक गरेको छैन । तर, भर्खरै मात्रै कम्पनीले टेस्लाका पूर्व कर्मचारीलाई आफ्नो विद्युतीय कार निर्माण परियोजनामा काम गर्नको लागि नियुक्त गरेको छ ।

टेस्लामा अटो पाइलट सफ्टवेयर परियोजनाका निर्देशक रहिसकेका क्रिस्टोफर सिजे मोरलाई एप्पलले भर्ना गरेको हो । उनले एप्पल परियोजनामा काम गरिरहेका स्टर्ट बोवेर्स मातहतमा रहेर काम गर्ने छन् । बोवेर्स पनि टेस्लाका पूर्व इन्जिनियर हुन् ।

टेस्लामा काम गर्दा खेरी नै सिजे मोरले टेस्लाका संस्थापक एलन मस्कको योजनाको आलोचना गरेका थिए । पूर्ण रूपमा स्वचालित कार बनाउने मस्कको घोषणालाई मोरले बढाइचढाइ अभिव्यक्ति भनी टिप्पणी गरेका थिए ।

कारलाई पूर्ण रूपमा स्वचालित बनाउने सफ्टवेयरको अहिले परीक्षण भइरहेको टेस्लाले जनाएको छ । यो वर्षको जनबरीमा पनि टेस्लाका संस्थापक एलन मस्कले कारहरू पूर्ण रूपमा स्वचालित हुन सक्नेमा आफू विश्वस्त भएको टिप्पणी गरेका थिए ।

एप्पलले विद्युतीय कार निर्माणको लागि अन्य कार निर्माता कम्पनीहरूसँग पनि छलफल अघि बढाइरहेको छ ।

तपाईको प्रतिक्रिया