काठमाडौँ – टी–२० वल्र्डकप २०२१ को सुपर–१२ राउण्डमा शनिवार राति खेलिएको प्रतियोगितामा वेस्ट इन्डिजले लज्जास्पद पराजय व्यहोरेको छ । इङ्ल्याण्डविरुद्ध खेल्दै वेस्ट इन्डिजको पुरै टीम केवल ५५ रनमा अलआउट भयो । प्रतिउत्तरमा इङ्ल्याण्डले उक्त खेल ६ विकेटले जितेर आफ्नो मिशनको थालनी उत्कृष्ट शैलीमा गरेको छ ।
इङ्याण्डले नवौं ओभरमा खेल जितेर वेस्ट इन्डिजलाई हराएको हो । त्यसो त यो निकै कम स्कोर पछ्याउन इङ्याण्डलाई पनि सहज भने भएन । इङ्ल्याण्डले यो लक्ष्यलाई पछ्याउँदै ५६ रन बनाउने क्रममा चार विकेट गुमाउनु परेको थियो ।
इङ्ल्याण्डको तर्फबाट जस बटलरले सर्वाधिक २४ रन बनाए र अन्त्यमा कप्तान इयान मोर्गनसंग मिलेर टीमलाई जित दिलाए । यो खेलमा इङ्ल्याण्डले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको थियो, जुन सही सावित भयो । वेस्ट इन्डिजलाई दोस्रो ओभरदेखि नै झट्का लाग्न थाल्यो, जसको सिलसिलामा अन्त्यसम्मै जारी रह्यो । वेस्ट इन्डिजका क्रिस गेलले मात्र १३ रन बनाउँदै दोहोरो अंकको स्कोर बनाउन सके । इङ्ल्याण्डको तर्फबाट आदिल रशीदले उत्कृष्ट बलिङ गर्दै केवल दुई रन दिएर चार विकेट लिए । मोइन अलीले पिन दुई विकेट लिए ।
वेस्ट इन्डिजको टीम १५ औं ओभरमै ५५ रनमा अलआउट भयो । रोचक कुरा के छ भने वेस्ट इन्डिजको टीम सन् २०१६ को टी–२० वल्र्डकप विजेता हो । यो पृष्ठभूमिमा शनिवारको उसको प्रदर्शन निकै नै आश्चर्यजनक रहेको छ । वेस्ट इन्डिजको टीममा थुप्रै दिग्गज खेलाडीहरुको पुनरामन भएको छ, तर पहिलो खेल नै यसरी खेलिनेछ भन्ने कसैले सोचेको थिएन ।