शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

नागोया – जापानमा तेस्रो ठूलो सहर नागोयामा अविरल घिमिरे र जापनिज फुजीमुरा बिच बक्सिङ भिडन्तमा अविरल घिमिरेले सहजै जित हासिल गरेका छन् । आफूले कडा मेहनत गरेको र नेपालीको आर्सीवादले आफू विजयी भएको अविरलले बताएका छन् । प्रतियोगिता नागोया कंग्रेस हलमा आयोजना गरिएको थियो । अविरलले खेलेका हिट ४९को उक्त खेलमा पहिलो राउण्डमा नै जापनिज खेलाडी फुजीमुरा नकआउट गरेका थिए । ३-३ मिनेटमा ५ राउण्ड खेलिने उक्त खेल एक राउण्डमा नै सकिएको थियो ।प्रतिस्पर्धा गरेका जापनिज फुजीमुरा जापानका राष्ट्रिय स्तरका खेलाडी हुन् । खेल हेर्न नेपाली तथा जापनिज दर्शकहरूको खचाखच उपस्थिति रहेको थियो । यसअघि पनि अधिकांश खेलमा अविरलले विजय हासिल गरेका थिए । यसपालि पनि अविरलले कडा मेहनत र नेपाली समुदायको सद्भाव र हौसला निरन्तर प्रदानले अविरलले विजय हासिल गरेको किक बक्सिङ प्रशिक्षक एवं अविरलका बुवा देव घिमिरेले बताए । अविरल मेरो मात्र नभई नेपालीकै छोरा हुन् , उसले नेपाल र नेपालीको इज्जत राखेकोमा खुशी लागेको उनले बताए ।जापानमा हिमालयन चितुवाको नामले प्रख्यात अविरल घिमिरे बक्सिङ खेलको माध्यमद्वारा चम्कँदै गएका छन् । उनलाई मन पर्ने खेल किक बक्सिङ मार्फत उनको चर्चा बढिरहेको हो । उनलाई जापानमा नेपालीले मात्र होइन, जापनिजहरूले पनि चिन्न थालेका छन् । नेपाली युवा किक बक्सिङ खेलाडी अविरल घिमिरेले जापानमा पछिल्लो समय नयाँ इतिहास रचेका थिए ।  जापानको राजधानी टोकियोमा गत मार्च २८ तारिख भएको किक बक्सिङको विश्व चर्चित के वन भिडन्तमा जापानी खेलाडीलाई नकआउट गर्दै अविरलले जित हात पारेका थिए । नेपाली खेलाडीले किक बक्सिङ के वन खेलमा जित निकालेको यो पहिलोपटक थियो । हिमालयन चितुवाको नामले परिचय स्थापित गरेका अविरल घिमिरेले जापानको राष्ट्रिय स्तरको ‘के फेस्टा’ अर्थात् ‘के वन प्रतियोगितामा चर्चित जापानी किक बक्सर कोतेचुलाई हराएका थिए ।अविरल २१ वर्षको उमेरमै अन्तर्राष्ट्रिय स्तरको किक बक्सिङ टुर्नामेन्ट खेल्ने पहिलो नेपाली युवा खेलाडी समेत हुन् । अविरलले खेलेका हिट ४७ व्यावसायिक किक बक्सिङ सहित १५ खेल मध्ये ११ वटामा ( नकआउट ) निकालेका थिए । उनले ३ वटामा हार व्यहोरेका थिए भने १ वटा प्रतिस्पर्धात्मक खेलमा उनी विजयी भएका थिए ।

अविरलले नियमित रूपमा सिमुरा डोजोमा प्रशिक्षण लिँदै आएका छन् । आफ्नो आमाबुबासँग जापानको नागोया सहरमा बस्दै आएका अविरल घिमिरेलाई उनको मनपर्ने खेल बक्सिङमा अहिलेसम्म सफलता हात परिरहेको छ। करिब ६ वर्ष जापान बसाइँका क्रममा अविरल लाई निरन्तर सफलता मिलिरहेको बुबा तथा उनको बक्सिङ खेलका कोच (प्रशिक्षक) देव घिमिरे को भनाई छ । बुवाकै प्रेरणाबाट आफू यस खेलमा लागेको अविरल बताउँछन् । उनका बुवा देव घिमिरे नेपालका मार्शलआर्टका पूर्व राष्ट्रिय खेलाडी समेत हुन् । साथै देव घिमिरेले पनि सन् २००४ मा के वन ग्राण्ड प्रिक्स भिडन्त गरेका थिए ।

तपाईको प्रतिक्रिया