शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौंका विभिन्न स्थानबाट २०७ जना पाकेटमार पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर टेकुले चलाएको विशेष अभियानअन्तर्गत सवारी साधनमा पाकेटमारी गर्ने र चोरी गर्ने २०७ जनालाई पक्राउ गरेको हो ।

काठमाडाैं – काठमाडौंको रिङरोड बाहिर र भित्रि इलाकामा चल्ने सार्वजनिक सवारीहरू, सपिङ मल, तथा अन्य क्षेत्रबाट प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

भदौ २५ गतेदेखि असोज १५ गतेसम्म चलेको विशेष अभियानका लागि प्रहरीले यातायात व्यवसायीहरूसँग सहकार्य गरी सादा पोसाकमा प्रहरी खटाएको थियो । उनीहरू नगद, मोबाइल, गरगहना चोर्दा चोर्दे रङ्गे हात पक्राउ परेका हुन् ।

उनीहरू सार्वजानिक बसहरूमा २२ जनाको दरले ६ जनाको समूहमा जाने गरेका थिए । बसभित्र गएर पैसा भएको यात्रु पत्ता लगाई अगाडि पछाडिबाट घेराबन्दीमा पारेर ठेलमठेल गर्दै त्यही मौकामा मोवाईल, नगद र सुनचाँदी पकेटमारी गरी पालैपालो ओर्लने गरेका थिए । उनीहरूले त्यसका फरक फरक सांकेतिक भाषाको प्रयोग गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

उनीहरूले पैसालाई द, मोबाइललाई कान, पकेटमार पीडितलाई रामे, पैसा धेरै भने टानको द, पैसा थोरै छ भने जुटको द, गाडीलाई काँचा, केटालाई छापा, केटीलाई भद्री, प्रहरी आयो भने ठुल्दाई आयो, ड्राइभरलाई माम, खलासीलाई मले, गाडीबाट झरेर भाग्नलाई टप्की, गाडीभित्र अगाडि सर भन्नलाई अकल जा, पछाडि सर भन्नलाई चिछल जा जस्ता सांकेतिक भाषा प्रयोग गर्दै आएका थिए ।

तपाईको प्रतिक्रिया