शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडाैं – सामूहिक बलात्कारको आरोपमा प्रहरीले सुनसरीको इटहरीबाट पाँच जनालाई पक्राउ गरेको छ । ६ जनाको समूहले बलात्कार गरेको लिखित उजुरी परेपछि प्रहरीले आइतबार पक्राउ गरेको हो ।

एक जना फरार छन् । पक्राउ परेकामध्ये चार जना १८ वर्षमुनिका रहेकाले नाम र ठेगाना नखुलाएको प्रहरीले जनाएको छ । घटना असोज १५ गते राति ७ बजेको हो । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक केशव कटवालका अनुसार इटहरी उपमहानगरपालिका-८ भुर्कीमा इटहरी-९ बस्ने एक महिलालाई ६ जना पुरुषले कुटपिट गरी नजिकै रहेको बाटो छेउको धान खेतमा लगेर बलात्कार गरेका थिए ।

उनीहरूले ती महिलाले गलामा लगाएको सुनको दुई तोला चार आनाको सुनको सिक्री र साथमा रहेको नगद ३ हजार रुपैयाँ समेत लुटेको उजुरी परेपछि पाँच जनालाई पक्राउ गरेको हो । प्रहरी निरीक्षक कटवालले भने, ‘जबरजस्ती करणीमा संलग्न भएकामध्ये गोमन भन्ने सुनिल चौधरीलाई गत शनिवार इटहरी-१४ स्थित घरबाटै पक्राउ गरिएको थियो भने अन्य चार जनालाई खोजतलासपछि पक्राउ गरिएको छ ।’

पक्राउ परेका र पीडित महिलाको स्वास्थ्य जाँच इनरुवा जिल्ला अस्पतालमा भइसकेको छ । पक्राउ परेका सबैलाई जिल्ला अदालतबाट मुलुकी अपराध संहिता २०७४ अन्तर्गत जबरजस्ती करणीसम्बन्धी कसुरमा पाँच दिनको म्याद थपेर अनुसन्धान भइरहेको छ ।

तपाईको प्रतिक्रिया