शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं – भाडा बढाउनु पर्ने माग गर्दै यातायात व्यवसायी आन्दोलनमा उत्रिएका छन् । छोटो दूरीको भाडा बढाउनु पर्ने माग गर्दै यातायात व्यवसायी आन्दोलनमा उत्रिएका हुन् ।

काठमाडौंको चाबहिलमा आ-आफ्नो बसमा चढेका यात्रुलाई ओरालेर सवारी चालकहरूले रित्तै गाडी गुडाएका छन् । अचानक उनीहरूले गरेको आन्दोलनको मारमा यात्रु परेका छन् । जोरपाटी बौद्धदेखि चाबहिलसम्म यात्रु चढाएर सार्वजनिक सवारी साधनहरूले छोटो दूरीको गाडी भाडा बढाउनुपर्ने भन्दै यात्रुलाई अलपत्र पारेका छन् । कार्यालय समयमा गरिएको आन्दोलनका कारण कामकाजी यात्रु आन्दोलनको प्रत्यक्ष मारमा परेका छन् ।

बिना जानकारी गाडी गाडी रोकेर अलपत्र पारी यातायात व्यवसायीले सडकमा दादागिरी देखाएको सर्वसाधारण बताउँछन् । व्यवसायी आफैले भाडा बढाउँदा ट्राफिक प्रहरीले कारबाही गर्न थालेपछि सडकमा गाडी तेर्स्याएर विरोध गरेका हुन् ।

व्यवसायीले पुरानो भाडादरमा २८ प्रतिशत बढाउने निर्णय गरेका छन् । जसअनुसार न्यूनतम भाडा नै १५ बाट २० रुपैयाँ पुर्‍याएका छन् । सोमबार काठमाडौंको चक्रपथका विभिन्न चोकमा व्यवसायीले चलेका गाडी रोक्दै यात्रु झारिरहेका छन् ।

यातायात व्यवसायी महासङ्घमा महासचिव सरोज सिटौलाले भने यसबारे सङ्घलाई जानकारी नभएको बताए । यातायात व्यवस्था विभागले आइतबार प्रदेश र स्थानीय तहबाट भाडा समायोजन नभएसम्म छोटो दूरीका सार्वजनिक सवारी साधनको भाडा समायोजन नहुने र जथाभाबी मनपरी भाडा नअसुल्न विज्ञप्ति जारी गरेको थियो ।

तपाईको प्रतिक्रिया