बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

काठमाडाैं – क्यानडामा पक्राउ परेकी चिनियाँ अग्रणी टेलिकम कम्पनी ह्वावेइकी उच्च अधिकारी अमेरिकासँगको एक सम्झौतालगत्तै चीन फर्किएकी छन् । ह्वावेइकी आर्थिक मामिला प्रमुख मङ्ग वान्जू सन् २०१८ को डिसेम्बरमा अमेरिकाको अनुरोधमा क्यानडामा पक्राउ परेकी थिइन् ।

ठगीको आरोपमा पक्राउ परेकी ह्वावेइका संस्थापककी छोरी वान्जूलाई क्यानडामै नजरबन्दमा राखिएको थियो । वान्जू पक्राउसँगै चीनको अमेरिका र क्यानडासँगको सम्बन्धमा तनाव उत्पन्न भएको थियो । सम्झौतापछि शुक्रबार अमेरिकाको विदेश मन्त्रालयले उनको सुपुर्दगीका लागि क्यानडालाई गरिएको अनुरोध फिर्ता लिएलगत्तै उनी रिहा भइन् ।

वान्जूको पक्राउको बदलामा चीनले क्यानडेली नागरिकहरूलाई पक्राउ गरेको थियो । चीनले त्यसलाई अस्वीकार गर्दै आए पनि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले चीनमा थुनामा रहेका दुई क्यानडेली नागरिक स्वदेश फर्कँदै गरेको बताएका छन् । वान्जू पक्राउ परेलगत्तै ती दुई क्यानडेलीलाई जासुसीको आरोपमा चीनले पक्राउ गरेको थियो ।

विश्वको दोस्रो ठुलो स्मार्टफोन निर्माता कम्पनी ह्वावेइमाथि ब्याङ्कमा ठगी गरेको, न्यायमा वाधा उत्पन्न गरेको र अमेरिकी कम्पनी टी मोबाइलबाट प्रविधि चोरेको आरोप छ । अमेरिकाले वान्जूले इरानको स्काइकम कम्पनीसँग ह्वावेइको सम्बन्धबारे झुटो विवरण पेस गरेर विश्वकै ठूलो मध्येको एचएसबिसी बैङ्कलाई अमेरिकी प्रतिबन्ध उल्लङ्घनको जोखिममा पारेको आरोप लगाएको छ ।

तपाईको प्रतिक्रिया