शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडाैं – सरकारले विदेशबाट नेपाल आउने र नेपालबाट बाहिरिने यात्रुहरूको यात्रा व्यवस्थापनबारे नयाँ आदेश जारी गरेको छ । मन्त्रिपरिषद्‌ले पारित गरेको ‘विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरूको यात्रा व्यवस्थापनसम्बन्धी आदेश, २०७८’ लाई संस्कृति, पर्यटन तथा नागरिक मन्त्रायलले प्रकाशित गरेको हो ।

उक्त आदेश बिहीबारदेखि नै लागु भएको मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए । पर्यटन व्यवसायीहरूले अनअराइभल भिसा खुला गर्नुपर्ने माग गर्दै आएको पृष्ठभूमिमा पर्यटन क्षेत्रका लागि पनि पछिल्लो निर्णय सुखद हुने अधिकारीहरूको विश्वास छ ।

‘निश्चय नै यो अनअराइभल भिसाले पर्यटकहरूको आवागमनलाई सहजीकरण गर्छ र भिसा प्रक्रिया सरलीकृत हुँदा नेपाल आउन पर्यटकहरूमा पनि उत्प्रेरणा बढ्छ,’ प्रवक्ता अधिकारीले थपे । सरकारी आदेश अनुसार प्रचलित कानूनबमोजिम अनअराइभल भिसा प्राप्त गर्न सक्ने मुलुकका कोभिड खोपका मात्रा पूरा गरेका नागरिकलाई अनअराइभल भिसा दिइनेछ ।

सरकारले ०७६ चैतको पहिलो लकडाउन सँगै विदेशीलाई अनअराइभल भिसामा रोक लगाएको थियो । अब कोभिड-१९ विरुद्धको खोपको मात्रा पूरा गरेको १४ दिन पूरा भएको, नेपाल आउने उडानको लागि चेक इन हुनु भन्दा ७२ घन्टा भित्रको कोभिड परीक्षणको रिपोर्ट नेगेटिभ भएको, होटल बुक गरेका विदेशीले सजिलै नेपाल भम्रण गर्न पाउने छन् ।

तर नेपाल सरकारले विदेशी नागरिकको नेपालमा पुन: अध्यागमन प्रवेश बिन्दुमा एन्टिजेन परीक्षण गर्न सक्ने छ । यदि त्यस्तो परीक्षणबाट कोरोना पोजेटिभ देखिएमा अनिवार्य रुपमा स्वास्थ्य मन्त्रालयले तोकेको आइसोलेसन वा अस्पतालमा निको नभएससम्म बस्नुपर्नेछ ।

त्यस्तै नेपाली नागरिक वा आवासीय नेपाली नागरिकले नेपाल फर्किँदा पूर्ण खोप लगाएको हुनुपर्ने छ । त्यस्तै हवाई उडानमा चेक इन हुनु भन्दा ७२ घन्टाभित्रको कोभिड-१९ परीक्षणको रिपोर्ट नेगेटिभ भएको प्रमाण पनि पेश गर्नुपर्ने छ । त्यस्तै सरकारले सीसीएमसीको फारम पनि अनिवार्य भर्नुपर्ने नियम तोकेको छ । यदि नेपाल प्रवेश गर्दा कोभिडको कुनै लक्षण वा चिह्न नभएमा गन्तव्यमा जान दिइने भनिएको छ ।

विदेशबाट नेपालमा आफ्नो धर्म, रीति, परम्परा अनुसार आफन्तको अन्तिम संस्कारमा सहभागी हुन आउने नेपाली वा गैरआवासीय नेपालीलाइ भने स्थानीय तहको सिफारिसका आधारमा एन्टिजेन टेस्ट गरी नेगेटीभ रिपोर्ट आएपछि मात्रै गन्तव्यमा जान दिइने भनिएको छ । त्यस्तै स्थलगत मार्गबाट पनि अब विदेशीले नेपाल आउन पाउने छन् । उनीहरुले पनि ७२ घन्टा अघिको कोभिड नेगेटिभ परीक्षण रिपोर्ट अनिवार्य बुझाउनु पर्ने छ ।

तपाईको प्रतिक्रिया