काठमाडाैं – झन्डै चार वर्षपछि भएको नेपाल र भारतबीचको बिहीबारको खेल फेरि बराबरीमा सकिएको छ । दशरथ रंगशालामा कोरोनाभाइरस संक्रमणका कारण विश्व फुटबल संगठनले ल्याएका स्वास्थ्यका सबै नियम पालना गरेर गराइएको खेलमा नेपाल र भारतले १-१ गोल गर्न सके ।
खेलको पहिलो हाफमा नेपालले एक गोल गरेर अग्रता कायम गरेको थियो । खेलको ३३ औं मिनेटमा सानदार फ्रिकिकमा चुकेको नेपालले त्यसको ३ मिनेटपछि ३६ औं मिनेटमा पहिलो गोल गर्यो । नेपालका लागि अन्जन विष्टले यो गोल गरेका थिए ।
पहिलो हाफमा अग्रता कायम गरेर अगाडि बढेको नेपाललाई भारतले बराबरी गोल फर्काउन दोस्रो हाफको १४ मिनेटसम्म कुर्नु पर्यो । भारतले दोस्रो हाफमा अनिरुद्र थापाको गोलमा नेपालसँग खेल बराबरी बनाएको हो । नेपाल र भारतबीच बिहीबार साँझ काठमाडौंमा २० औं खेलमा भिडन्त भएको हो ।
यी २० खेलमा अहिलेसम्म नेपालले २ खेलमा मात्र जित निकाल्न सफल भएको छ । यीमध्ये अहिलेसम्म भारतले नेपाललाई १३ खेलमा जितेको छ । अनि अन्य पाँच खेल बराबरीमा टुगिंएका छन् । नेपाल र भारतका दुवै कप्तानहरुले प्रिम्याच कन्फ्रेन्समा बुधबार आफूहरुले दुवै टिमलाई कमजोर नआँकेको बताएका थिए ।