काठमाडाैं – इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडले पोचुर्गिज फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई आफ्नो क्लबमा अनुबन्ध गरेको छ । यो समाचारले फुटबल जगत् तताउँदै गर्दा क्लबले सामाजिक सञ्जाल इन्टाग्राममा सोही समाचारको तस्बिर राख्यो । सो तस्बिरले हालसम्मकै सबैभन्दा बढी लाइक पाएको छ ।
म्यानचेस्टरले शुक्रबार उक्त फोटो सार्वजनिक गर्दै उनी क्लबमा आबद्ध भएको सूचना फ्यानलाई दिएको थियो । उक्त फोटोले २ दिनमा नै १ करोड २६ लाख ९ हजार ११० लाइक पाएकोे छ । यो इन्स्टाग्रामको इतिहासमा सबैभन्दा बढी रुचाइएको फोटो बनेको छ । क्रिस्टियानो रोनाल्डो १० वर्षपछि क्लबमा फर्किएका हुन् ।
आफ्नो सिनियर करिअरमा जर्सी नम्बर ७ प्रयोग गरेका रोनाल्डोले यसलाई आफ्नो ब्राण्ड नै बनाएका छन् । रोनाल्डोले ‘सिआर७’को ब्राण्डमा फुटबलबाहिर थुप्रै व्यापारिक क्षेत्रमा लगानी गरेका छन् । रोनाल्डोपछि एन्टोनियो भ्यालेन्सिया, एन्जल डी मारिया, मेम्फिस डिपाए र एडिन्सन काभानीले यो नम्बर प्रयोग गरेका छन् ।
रोनाल्डोको आगमनसँगै काभानीले जर्सी नम्बर ७ लगाउने या नलगाउने भन्ने निश्चित भएको छैन । काभानी अब म्यान्चेस्टरमा रहने या नरहने भन्ने पनि शंकाको विषय बन्न थालेको छ । काभानीले रोनाल्डोको लागि नै जर्सी छाड्ने सम्भावना पनि रहन सक्छ ।
तर, त्यसका लागि प्रिमियर लिगको विशेष स्वीकृति आवश्यक पर्छ । लिगको नियमअनुसार दर्ता गरिसकेको जर्सी नम्बर परिवर्तन गर्न पुरानो खेलाडीले क्लब छाडेको हुनुपर्ने वा उसको स्वीकृति लिनुपर्ने नियम छ ।