सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

काबुल – संयुक्त राज्य अमेरिकाले सेनाको निकास पूरा नगरेसम्म तालिबानले आफ्नो सरकारको संरचना घोषणा नगर्ने तालिवान समूहले बताएको छ । सोमबार एएफपीसँग कुरा गर्दै तालिबान एक नेताले भने, ‘अफगानिस्तानमा एक जना पनि अमेरिकी सैनिक उपस्थित भएसम्म सरकार र मन्त्री परिषद्को गठनकोे घोषणा नगर्ने निर्णय भएको छ ।’

यो भनाइलाई पुष्टि गर्न सोधिएको प्रश्नमा अर्का एक नेताले पनि सोही कुरा बताए । काबुल विमानस्थल अस्तव्यस्त रहँदा संयुक्त राज्य अमेरिका र यसका सहयोगी राष्ट्रहरूले आगामी हप्ताभन्दा बढी अफगानिस्तानमा आफ्नो उपस्थिति बढाएमा यसबाट आउने ‘परिणाम’को जिम्मेवार उनीहरू नै हुने तालिबान समूहले चेतावनी दिएको छ ।

अगस्त ३१ को समय सीमाभन्दा दुई हप्ताअघि सबै फौज देशबाट पूर्णतया हट्न लागेको बेला गत साता कट्टर इस्लामवादीहरूले अस्वभाविक गतिमा अफगान भूगोलमाथि विजयको घोषणा गरेपछि पश्चिमी राष्ट्रहरूलाई यसले स्तब्ध पारेको छ ।

विदेशी र अफगानीहरूको हवाई यात्राको व्यवस्थापन भद्रगोल अवस्थामा रहेको र धेरै पश्चिमी राष्ट्रहरूमाथि तालिवानले प्रतिशोध लिने भन्दै अमेरिका तथा यूरोपेली मुलुकहरूले चिन्ता व्यक्त गरेका छन् । त्यसैले बहिर्गमन प्रक्रियाको अन्तिम समयमा हजारौं सिपाहीहरू अफगानिस्तानमा फर्किएका छन्।  यसले अफगानिस्तानको सैन्य गठबन्धनमा नेतृत्व गरेको अमेरिकालाई बहिर्गमन प्रक्रियालाई लम्ब्याउन दबाव परिरहेको छ ।

अहिलेसम्म तालिबानले भने अमेरिकी सेनाको बहिर्गमन प्रक्रियामा सम्झौता गर्न कुनै इच्छा देखाएका छैनन् । तालिबान प्रवक्ता सुहेल शहिनले सोमबार स्काई न्युजसँग भने, ‘यदि अमेरिका वा बेलायतले उद्धार कार्य जारी राख्न थप समय खोज्ने हो यसमा तालिवान सहमत हुने छैन । अर्थात् यसको ‘परिणाम’ को जिम्मेवार उनीहरू नै हुनुपर्नेछ ।’

तपाईको प्रतिक्रिया