सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

काठमाडौं — अस्ट्रेलियामा लकडाउनविरुद्ध प्रदर्शन हुँदा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । बीबीसीका अनुसार अस्ट्रेलियाको मेलबर्न र सिड्नी शहरहरुमा लकडाउनविरुद्ध प्रदर्शन गरिरहेका हजारौं मानिसहरुसँग प्रहरीको झडप भएको हो ।

प्रहरीले २१८ जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ भने कम्तिमा सात जना प्रहरी अधिकारीहरु घाइते भएका छन् । मेलबर्नमा ४ हजार जनाको ठूलो र्‍यालीले प्रहरीको लाइन तोडेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो ।

प्रदर्शनकारीले लकडाउनको नियम उलङ्घन गरेको भन्दै प्रहरीले उनीहरुलाई प्रदर्शनमा रोक लगाएको थियो । प्रहरीले ‘पेपर स्प्रे’ छर्केर तितरबितर पार्ने कोशिस गरेको थियो ।

पक्राउ परेका सबैलाई कोभिड नियम उल्लंघन गरेवापत ५ हजार ४५२ अस्ट्रेलियन डलर जरिबाना तिराइने प्रहरीले जनाएको छ। तीन जनालाई प्रहरीमाथि कुटपिट गरेको अभियोग पनि लगाइएको छ ।

दैनिक सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि न्यू साउथ वेल्स राज्य सरकारले सिड्नी र त्यस आसपासको क्षेत्रमा आगामी सेप्टेम्बर अन्त्यसम्म लकडाउन लागू गर्ने निर्णय गरेको थियो । यस क्षेत्रमा लामो समयदेखि लकडाउन जारी छ ।

२० लाख बासिन्दा रहेका शहरका सबैभन्दा नराम्रोसँग प्रभावित क्षेत्रहरुमा स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ । कर्फ्यूका आलोचकहरुले यसलाई भाइरस नियन्त्रण गर्ने प्रभावकारी माध्यम नभएको बताउँदै आएका छन् ।

अस्ट्रेलियामा अहिलेसम्म कोरोना संक्रमबाट ९८१ जनाको मृत्यु भएको छ । ४४ हजार १५ संक्रमित भएका छन् भने ३१ हजार ५९३ जना संक्रमण मुक्त भइसकेका छन् ।

तपाईको प्रतिक्रिया