बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

काठमाडौं — स्पाइवेयर मार्फत फोन ह्याकिङ्गको निशानामा पर्ने विश्वका विभिन्न नेताहरु मध्ये फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँ पनि रहेको विभिन्न सञ्चारमाध्यममा आएका खबरमा उल्लेख छ ।

पेगासस नाम गरेको सफ्टवेयरको प्रयोग गरेर फोन ह्याक गरि जानकारीहरु चोरिएको हुन सक्ने उल्लेख छ । सो सफ्टवेयरले फोन ह्याक गरि त्यसका गतिविधिहरु निगरानी गर्न सक्छ ।

पेगासस सफ्टवेरको प्रयोग गरि विभिन्न क्षेत्रका व्यक्तिहरुको ५० हजारको हाराहारीमा फोन नम्बरहरुको सूचि इजरायली कम्पनी एनएसओले आफ्ना क्लाइन्टहरुलाई बेचेको खबर विश्वका प्रमुख सञ्चारमाध्यमहरु मार्फत सार्वजनिक भएको थियो ।

ती फोनहरु ह्याक गरि गतिविधि निगरानी गरिएको हुन सक्ने आशंका पनि छ । सूचिमा रहेका सबैको फोन ह्याक भएको छ भन्ने होइन । तर उनीहरु सम्भावित ह्याकिङ्गको निशानामा भने रहेको देखाउने खबरमा उल्लेख छ ।

फ्रान्सेली पत्रिका ले मुण्डका अनुसार मोरक्कोको गुप्तचर सेवाले राष्ट्रपति म्याक्रोँले सन् २०१७ देखि प्रयोग गर्दै आएको फोन पत्ता लगाएको हो । मोरक्कोले पेगासस सफ्टवेयर उत्पादक इजरायली कम्पनी एनएसओको ग्राहक आफू नरहेको दाबी गरेको छ ।

सार्वजनिक भएको सम्भावित निशानामा रहेका फोनको सूचिमा इराकका राष्ट्रपति बारम सालिह, दक्षिण अप्रिकाका राष्ट्रपति सिरिल रामाफोसासँगै पाकिस्तान, इजिप्ट र मोरक्कोका प्रधानमन्त्री र मोरक्कोका राजाको फोन पनि छ । ३४ देशका ६०० भन्दा बढि सरकारी अधिकारी तथा नेताहरु सो सूचिमा छन् ।

फ्रान्सेली राष्ट्रपति म्याक्रोँले खबरमा आएको कुरा सत्य रहेका त्यो निकै गम्भीर रहेको बताएका छन् ।

टेलिफोन ह्याक गरि निगरानी गर्न मिल्ने पेगासस स्पाइवेयर इजरायली कम्पनी एनएसओले विकास गरेको हो । एनएसओले पेगासस विभिन्न देशका सरकार, सैनिक तथा प्रहरीसहितलाई बेच्ने गरेको छ ।

एनएसओले भने आफूले कुनै पनि प्रकारको खराब काम नगरेको दाबी गरेको छ। आपराधिक गतिविधि नियन्त्रणका लागि बनाइएको सफ्टवेर सेना, प्रहरी र गुप्तचर निकायलाई मात्र उपलब्ध गराइएको एनएसओले जनाएको छ। मावनअधिकार उल्लंघनका लागि सफ्टवेरको प्रयोग नगरिएको दाबी उसको छ।

पेगासस नामक सफ्टवेयरको प्रयोग गरि टेलिफोनको जानकारी ह्याक गरिएको सम्बन्धी खबर आइतबार द वासिङ्गटन पोस्ट, द गार्डियन, ले मुण्ड र विश्वका अरु १४ वटा ठूला सञ्चारमाध्यमले प्रकाशित गरेका थिए।

आइफोन तथा एन्ड्रोइड फोनको डिभाइसबाट म्यासेज, फोटो, इमेल, टेलिफोन सम्बन्धी जानकारी लिनका लागि सो सफ्टवेयर प्रयोग हुने गरेको खबरमा उल्लेख छ।

तपाईको प्रतिक्रिया