सोमबार, जेठ ०७, २०८१
Monday, May 20, 2024

काठमाडौं – कोशी प्रदेशमा प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका छन् । बुधवार राति सूचना जारी गर्दै प्रदेश प्रमुख खापुङले मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्ति अनुसार प्रदेश प्रमुख खापुङले नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने कोशी प्रदेश सभाका कुनै सदस्यलाई वैशाख २८ गते शुक्रबार अपराह्न ५:०० बजेभित्र आफ्नो दाबी पेस गर्न आह्वान गरेका छन् ।

कोशी प्रदेशसभाका ५२ जना प्रदेशसभा सदस्यले गत चैत २६ गते मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुखको कार्यालयमा प्राप्त भएको, वैशाख १० गते मुख्यमन्त्री कार्कीलाई ३० दिन भित्र विश्वासको मत लिन निर्देशन दिएको सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको र मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने सम्बन्धी सूचना प्रदेशसभा सचिवालयमा प्राप्त नभएको बेहोराको पत्र वैशाख २६ गते प्राप्त भएको आधार देखाउँदै प्रदेश प्रमुख खापुङले नयाँ सरकारका लागि दुई दिनको समय दिएर प्रस्ताव आह्वान गरेका छन् ।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार केदार कार्की २०८० असोज २७ मुख्यमन्त्री नियुक्त भएका थिए । उपधारा ५ अन्तर्गत गठन भएको सरकारको बहिर्गमनको स्पष्ट व्यवस्था नहुँदा मुख्यमन्त्री कार्कीले २ वर्षसम्म आफू नेतृत्वको सरकारलाई कसैले केही गर्न नसक्ने भन्दै विश्वासको मत नलिने र राजीनामा पनि नगर्ने अडान लिँदै आएका थिए ।

हिक्मत कार्कीलाई अघि सार्ने तयारी
गत फागुन २१ मा प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेससँगको सहकार्य तोडेर एमालेसँग गठबन्धन गरेपछि कार्की नेतृत्वको सरकारको दिनगन्ती सुरु भएको थियो । गत चैत २६ मा एमाले र माओवादी सरकारबाट बाहिरिएपछि उनी अल्पमतमा थिए । तर मुख्यमन्त्री कार्की विश्वासको मत नलिने र राजीनामा पनि नदिने अडानमा थिए ।

एमाले र माओवादीले बुधबार अपराह्न नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन माग गर्दै प्रदेश प्रमुख खापुङलाई ध्यानाकर्षण पत्र बुझाएका थिए । आफू अनुकूल निर्णय आएपछि एमाले-माओवादी नेताहरू खुसी देखिएका छन् । एमाले र माओवादीले बिहीबार बिहान सरकारको दाबी प्रस्तुत गर्ने माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोले बताए । यो गठबन्धनले एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्रीका रूपमा अघि सार्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया