काठमाडौं — टोकियो ओलम्पिक खेलकुद प्रतियोगिताका आयोजकको मूलमन्त्र नै ‘सुरक्षित टोकियो ओलम्पिक’ हो । यही कारण प्रतियोगितामा सहभागी हुने करिब ११ हजार खेलाडी पूर्ण रूपमा सुरक्षित रहने उनीहरूको दाबी छ । तर, प्रतियोगिता नजिकिँदै गर्दा खेलस्थलमा भने कोरोना संक्रमितहरू देखिन थालेका छन् ।
शुक्रबार मात्रै पनि खेलाडी बस्ने एथलेटिक्स भिलेजमा कोरोना संक्रमणको केस फेला परेको छ । यही भिलेजमा ११ हजार ओलम्पियन रहनेछन् । सुरक्षित भनिएको भिलेजमै संक्रमित देखिएपछि आयोजकको टाउको दुखाइको विषय बनेको छ । बेलायती समाचार एजेन्सीहरूले एथलेटिक्स भिलेजमा भेटिएका व्यक्तिहरू खेलसँग सम्बन्धित नभएर आगन्तुक भएको जनाएका छन् ।
शुक्रबार नियमित परीक्षणको क्रममै एक व्यक्तिमा कोरोना पोजिटिभ देखिएको बेलायती एजेन्सीहरूले जनाएका छन् । जापान सरकारले भने ओलम्पिकका सहभागी खेलाडीहरूलाई डरविना प्रतिस्पर्धा गर्न आश्वस्त पार्ने कोसिस गरिरहेको छ । केही व्यक्तिमा देखिएको संक्रमणलाई गम्भीरतापूर्वक नलिन ओलम्पिक आयोजक कमिटीले आग्रह गरेको छ ।
ओलम्पिक तथा एसियन खेलकुद प्रतियोगितामा सहभागी हुने सबै खेलाडी, प्रशिक्षक तथा टिम म्यानेजर एथलेटिक्स भिलेजमै बस्नुपर्ने नियम छ । एथलेटिक्स भिलेजको सम्पूर्ण व्यवस्थापन आयोजक टोकियो सहरले गरेको हो ।
कोरोना भाइरस महामारीका रूपमा फैलिएकै कारण टोकियो ओलम्पिक निर्धारित समयभन्दा एक वर्षपछि आयोजना हुन लागेको हो । यो प्रतियोगिता गत वर्ष नै हुनुपर्ने थियो । आइओसी, जापान सरकार तथा आयोजक कमिटीबीच दर्शकविना र कोरोनाविरुद्ध कडा नियम पालनासहित यस वर्ष टोकियो ओलम्पिक आयोजना गर्ने सहमति भएको हो ।
ओलम्पिकमा सहभागी सबैले अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने नियम छ । टोकियो सहरका २० प्रतिशत नागरिकले भ्याक्सिन लगाइसकेका छन् । जापानले टोकियो ओलम्पिकपछि पारा ओलम्पिक पनि आयोजना गर्नेछ । आइओसीका अनुसार गृष्मकालीन ओलम्पिक प्रतियोगिता आयोजना गर्ने राष्ट्रले नै दुई सातापछि पारा ओलम्पिक गर्नुपर्छ ।