काठमाडौँ – डेनमार्कलाई पराजित गर्दै इंग्ल्यान्ड १६ औं संस्करणको युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा डेनमार्कलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड फाइनलमा प्रवेश गरेको हो ।
घरेलु मैदान वेम्बली स्टेडियममा इंग्ल्यान्डले सुरुवाती एक गोलको अग्रता उल्टाएर जित निकालेको हो । इंग्ल्यान्डको जितमा कप्तान ह्यारी केनले एक गोल गरे । इंग्ल्यान्डले एक गोल आत्मघाती उपहार पाएको थियो ।
खेलमा सुरुवाती अग्रता डेनमार्कले बनाएको थियो । ३० औं मिनेटमा डाम्सगार्डले फ्रिकिकबाट गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए ।
खेलको ३९ औं मिनेटमा डेनमार्कका कप्तान सिमोनले आत्मघाती गोल गरेपछि खेल १-१ को बराबरीमा पुग्यो । निर्धारित ९० मिनेटको समयमा दुबै टोलीले बराबरी खेलेपछि खेल अतिरिक्त समयमा गएको थियो ।
अतिरिक्त समयको १ सय ४ औं मिनेटमा कप्तान केनले गोल गर्दै इंग्ल्यान्डलाई २-१ को जित दिलाए । उनले आफैले हानेको पेनाल्टीको रिबाउन्डमा गोल गर्दै जित दिलाएका थिए ।
अब इंग्ल्यान्डले फाइनलमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल आइतबार राति वेम्बली स्टेडियममा हुनेछ । इटालीले सेमिफाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराएर फाइनल प्रवेश गरेको हो ।