काठमाडाैं – आगामी साउन ८ देखि २४ गतेसम्म जापानको टोकियोमा हुने ३२औँ गृष्मकालीन ओलम्पिक प्रतियोगितामा नेपालका तर्फबाट पाँच खेलाडीले भाग लिने भएका छन् । सो प्रतियोगितामा नेपालबाट एक पुरुष र चार महिला सहभागी हुने भएका हुन् ।
ओलम्पिकमा यसपटक सुटिङ विधाकी कल्पना परियार, एथ्लेटिक्सका सरस्वती चौधरी, पौडीमा गौरीका सिंह र अलेक्सजङ्ग शाह र जुडोमा सोनिया भट्टले नेपालको प्रतिनिधित्व गर्नेछन् । उनीहरू पाँचैजना वाइल्ड कार्डमार्फत छनोटमा परेका हुन् ।
छनोट भएकामध्ये १० मिटर एयर राइफलकी अब्बल परियार र १०० मिटर एथेलेटिक्समा राष्ट्रिय कीर्तिमानधारी चौधरी नेपाली सेनाका खेलाडी हुन् ।
ओलम्पिकमा जाने सेनाका खेलाडीलाई नेपाली सेनाले सम्मान गरेको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित एक समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापाले दुई खेलाडीलाई सम्मान गर्दै खेल सामग्रीसहितको झोला हस्तान्तरण गरेका हुन् ।
प्रधानसेनापति थापाले मुलुकको खेलकुद क्षेत्रको विकासमा सेनाले गौरव गर्न लायक रूपमा दिँदै आएको योगदान र निरन्तरका आधारमा हालसम्म संगठनका २४ खेलाडीले ओलम्पिकमा आफ्नो कौशल प्रस्तुत गर्न सफल भएको बताए ।