शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडाैं – संयुक्त राष्ट्रसंघले म्यानमारमा सैन्य कु पछि सेनाको नियन्त्रणमा रहेका नेतृ आङ सान सुकी र राष्ट्रपति विन मिन्टलाई रिहा गर्नका लागि आह्वान गरेको छ । युएनले बिनाशर्त दुवैजनालाई रिहा गर्नका लागि आग्रह गरेको हो ।

युएनका महासचिव एन्टोनियो गुटरेसले पछिल्लो ५ महिनादेखि म्यानमारको सेनाको नियन्त्रणमा रहेका सुकी र मिन्टसहित हिरासतमा रहेका अन्य राजनीतिक व्यत्तिःलाई रिहा गर्नका लागि सेनालाई आग्रह गरेका युएनका प्रवक्ताले बताएका छन् ।

गत फेब्रुअरी १ मा म्यानमारमा सेनाले निर्वाचित सरकारलाई अपदस्थ गर्दै शासन आफ्नो हातमा लिएको थियो । सँगसँगै सेनाले राष्ट्रपति मिन्ट, नेतृ सुकीसहित उनको पार्टीका नेताहरुलाई नजरबन्दमा राखेको थियो । युएनका प्रवक्ता इरी कानेकोलाई उधृत गर्दै समाचार संस्था अलजजिराले गुटरेसले म्यानमारको सेनालाई मनोमानी पूर्ण ढंगबाट नियन्त्रणमा लिइएको सुकी, मिन्टसहितका नेताहरुलाई बिनाशर्त तत्काल रिहा गर्नका लागि आह्वान गरेका लेखेको छ ।

यसअघि म्यानमारको सेनाले करिब २ हजार जनालाई बुधबार रिहा गरेको थियो । म्यानमारका स्थानीय सञ्चारमाध्यमका अनुसार जनप्रदर्शनमा सहभागी तथा पत्रकारसहित २ हजार जनालाई सेनाले रिहा गरेको हो । यसैबीच, म्यानमारको सबैभन्दा ठूलो सहर यङ्गुनमा जम्मा भएका प्रदर्शनकारीले म्यानमारको सेनाको बर्दी जलाएर प्रदर्शन गरेका छन् । उनीहरुले प्रजातन्त्रको पुनर्बहालीको माग गर्दै सेनाको बर्दी जलाएका हुन् ।

तपाईको प्रतिक्रिया