बुधबार, बैशाख १९, २०८१
Wednesday, May 1, 2024

नयाँदिल्ली – भारतले चीनको सीमामा थप ५० हजार सेना पठाएको छ । विश्वकै दोस्रो ठुलो अर्थतन्त्रविरुद्ध भारतले आक्रामक रणनीति लिएको यो पहिलो पटक भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

दुई देशबीच सन् १९६२ मा युद्ध भए पनि ब्रिटिसले देश छाडेयता हालसम्म भारतको ध्यान पाकिस्तानसँगको सीमामा रहँदै आएको थियो । भारत र पाकिस्तानबीच विवादित कश्मीरलाई लिएर तीनपटक युद्ध भइसकेको छ । तर, गत वर्ष चीनसँग भएको हिंसात्मक झडपपछि प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशासनले इस्लामावादसँगको तनाव कम गर्दै आफ्नो ध्यान बेइजिङलाई काउन्टर दिन केन्द्रित गरेको छ ।

पछिल्ला केही महिनामा भारतले आफ्ना सैनिक र लडाकु विमानलाई भारत–चीन सीमाका तीन महत्त्वपूर्ण क्षेत्रमा तैनाथ गरेको स्रोतको हवाला दिँदै लाइभमिन्ट डटकमले उल्लेख गरेको छ । भारतले अहिले चीनसँगको सीमामा कम्तीमा २ लाख सेना खटाएको छ । जुन पछिल्लो वर्षको तुलनामा ४० प्रतिशतले वृद्धि भएको समाचारमा उल्लेख गरिएको छ । यस विषयमा भारतीय सेना र प्रधानमन्त्री कार्यालयका प्रवक्तासँग प्रतिक्रियाका लागि सम्पर्क गर्दा उनीहरूले भने कुनै जवाफ नदिएको समाचारमा बताइएको छ ।

यसअघि सम्भावित चिनियाँ कदमलाई रोक्ने मात्र भारतीय सेनाको रणनीति हुन्थ्यो भने यसपटक सेना थप आक्रामक हुने बताइएको छ । यस रणनीतिलाई ‘अफेन्सिभ डिफेन्स’ भनिएको छ । जसमा सेनाहरूलाई एक ठाउँबाट अर्को ठाउँ लैजान थप हेलिकप्टर तैनाथ गर्ने, एम ७७७ आर्टिलरी लगायत तैनाथ गर्ने लगायत छन् ।

चीनले हाल भारतसँगको सीमामा कति सेना तैनाथ गरेको छ भन्ने यकिन तथ्याङ्क छैन । तर, पछिल्लो पटक चीनले तिब्बतबाट सिन्जियाङ मिलिटरी कमान्डमा थप सैनिक पठाएको छ । विवादित हिमालय क्षेत्रमा पेट्रोलिङ गर्ने जिम्मा यस कमान्डको रहेको छ ।

त्यस्तै चीनले सो क्षेत्रमा युद्धविमान राख्न बमप्रुफ बंकर, नयाँ एयरफिल्ड लगायत निर्माणलाई तीव्रता दिएको छ भने पछिल्ला केही महिनामा लामो दुरीको आर्टिलरी, ट्यांक, रकेट रेजिमेन्ट र दुई इन्जिन भएको फाइटरहरु थप गरेको छ । –लाइभमिन्ट

तपाईको प्रतिक्रिया