काठमाडौं – युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफएले युरो कपका दौरान हुने पत्रकार सम्मेलनमा स्पोन्सरले राख्ने पेय पदार्थको बोतल नहटाउन टिम र खेलाडीलाई आग्रह गरेको छ ।
युइएफएले युरो कपमा सहभागी प्रत्येक फुटबल संघलाई पत्र लेख्दै आफ्ना खेलाडीलाई स्पोन्सरले राखेका बोतल नहटाउन सम्झाउनु भन्दै खेलाडीले त्यस्तो गरेको पाइएमा संघलाई जरिवाना तिराइने चेतावनी दिएको हो ।
पछिल्लो समय खेलाडीले पत्रकार सम्मेलनका क्रममा स्पोन्सरले राख्ने पेय पदार्थका बोतल हटाउन थालेपछि युइएफएले यस्तो चेतावनी दिएको हो । युइएफएले सिधै खेलाडीलाई कारबाही गर्न नमिल्ने भएकाले फुटबल संघलाई चेतावनी दिएको जनाएको छ ।
सोमबार पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले युरो कपको मुख्य स्पोन्सर कोकाकोलाको बोतल हटाएर पानी पिउन आग्रह गरेका थिए । रोनाल्डोको यो कदमपछि कोकाकोलाले ४ बिलियन अमेरिकी डलरको घाटा व्यहाेर्नुपर्याे । फ्रान्सका पउल पोग्बाले हाइनिकन बियर तथा इटालीका म्यानुएल लोकाटेलीने कोकाकोलाको बोतल हटाएर पानीको बोतल राखेका थिए ।