शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं – म्यानमारकी नेतृ आङ सान सू ची पहिलो पटक अदालतमा स्वयम् उपस्थित भएकी छन् । गत १ फेब्रुअरीका दिन सत्ताच्यूत गरिएकी सू चीलाई त्यसयता सेनाले विभिन्न आरोपमा गिरफ्तार गरी जेलमा राखेको थियो ।

उनका एक जना वकिल मिन मिन सोले संचारमाध्यम एपीलाई टेलिफोनमा बताएअनुसार सू चीलाई राजधानी न्यापिटअस्थित नगर परिषद् भवनमा स्थापना गरिएको विशेष अदालतमा उपस्थित हुनुअघि आफ्ना वकिलहरूसँग भेट गर्न दिइएको छ ।

कानुन व्यवसायीहरूले अपदस्थ राष्ट्रपति विन मिन्टसँग पनि भेटघाट गरेका छन् । मिन्टविरुद्ध पनि सू चीका झैँ आरोपहरू लगाइएका छन् । सू चीविरुद्ध धेरैवटा फौजदारी अभियोग लगाइएको छ । यसअघि सू चीलाई भिडियो लिङ्कमार्फत अदालती सुनुवाइ गरिएको थियो । उनलाई कुनै पनि कानुन व्यवसायीसँग भेटघाट गर्न दिइएको थिएन ।

सू चीले कानुन व्यवसायी मिन मिन सोमार्फत म्यानमारका जनताप्रति सन्देश पठाउँदै नेसनल लिग फर डेमोक्रेसी पार्टी (एनएलडी) जनताको अधिकारको पक्षमा सदाझैँ अटल भएर उभिने प्रतिवद्धता व्यक्त गरिन् । सुनुवाइपश्चात् मिन मिनले भने, ‘सू चीले अदालतमा आम बर्मेली जनताको सुस्वास्थ्य र भलाई होस् भन्नुभयो, र एनएलडी जनताको पार्टी भएकाले जनता रहेसम्म एनएलडी सदा जीवित रहनेछ ।’

मिन मिनले थपे, ‘सू ची स्वस्थ र आत्मविश्वासपूर्ण देखिनुभएको छ ।’ सोमबारको सुनुवाइमा सू चीविरुद्ध लगाइएका मुख्यतः छवटा फौजदारी मुद्दामाथि केन्द्रित रहेर सोधपुछ गरिएको थियो ।

तपाईको प्रतिक्रिया