काठमाडौं – अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ कोरोना महामारी पूर्वको स्तरमा पुगेको छ । कोरोना भाइरसको महामारीबीच गत वर्षको तेलको भाउ अहिलेसम्मकै न्यून बिन्दुमा आएको थियो । तेलको माग अहिले पनि सामान्य अवस्थाभन्दा कम नै रहेको छ ।
तर विश्वभर क्रमिक रुपमा कोरोना भाइरस विरोधी खोप लगाउने कार्य सुरु भएसँगै महामारी नियन्त्रणमा आउने र आर्थिक पुनर्बहाली हुने आशा भने बढेको छ ।
सोमवार ब्रेन्ट क्रुडको भाउ ६० डलरमाथि पुगेको छ । विगत केही महिनायता तेलको भाउ ५० प्रतिशतभन्दा धेरैले बढिसकेको छ । हालैका दिनमा ब्रेन्ट क्रुडको भाउमा उच्च वृद्धि भएको छ । नोभेम्बरयता फ्यूचर कन्ट्र्याक्ट ५९ प्रतिशतले बढेको छ ।
पछिल्लो समय तेलको भाउमा उच्च वृद्धि हुनुको पछाडि महामारी नियन्त्रणमा आएर आर्थिक गतिविधि र तेलको माग बढ्ने अपेक्षा कारण रहेको बताइँदै आइएको छ । पछिल्लो समय एशियामा तेलको माग बढिरहेको छ ।