टोकियो – सारा विश्व कोरोना भाइरसको महामारीसँग लडिरहेको छ । अमेरिका तथा युरोपीयन देशहरुमा कोरोना भयावह स्थिती छ ।
जापानको राजधानीमा कोरोना भाइरसका केस अहिले तीव्र दरले बढीरहेको छ । नयाँ वर्षको छुट्टीको अवधिमा प्राय:मानिस यात्रा गर्दछन् जस कारण टोकियोमा कोरोना भाइरसको बिस्फोट हुनसक्ने खतरा रहेको छ ।
राजधानीमा बुधवार ९४४ नयाँ कोरोनाभाइरसका संक्रमित भेटिएका छन् । चिकित्सा विज्ञहरूले प्रकोप नियन्त्रण नभए दिनमा १,००० भन्दा बढी बिरामी छिट्टै देखिने चेतावनी दिएका छन् ।
गभर्नर युरीको कोइकेले मानिसहरूलाई रमाईलो भन्दा जीवनलाई प्राथमिकता दिएर छुट्टीमा सकेसम्म घरमा बस्न आग्रह गरेकी छिन् ।
“स्थिति अत्यन्त गम्भीर छ, हामी भाइरसका विशाल छालको सामना गर्दैछौं जुन हामीले पहिले कहिल्यै देखेका थिएनौं । संक्रमण कुनै पनि समयमा विस्फोट हुन सक्छ । हामीमध्ये कोही कुनै पनि समयमा संक्रमित हुन सक्छौ । यदि हामीले अहिले रोक्न सकेनौं भने, हामीले ज्यादै खराब अवस्थाको सामना गर्नुपर्ने हुन्छ । टोकियोका प्रत्येक नागरिकको व्यवहारले संक्रमण प्रवृत्तिलाई प्रभावित गर्दछ” कोइकेले भनिन् ।
शनिबार ९४९ जना संक्रमित भेटिए पछि कोरोनाभाइरसले टोकियोमा नयाँ दैनिकी रेकर्ड बनाएको छ । जाडो मौसमको साथै बेलायत र दक्षिण अफ्रिकाबाट आएका कोरोनाभाइरसको अत्यधिक संक्रामक प्रकारको स्ट्रोक जापानमा देखिएनुले थप चिन्ता पैदा भएको छ ।
टोकियोमा अहिले ८५ जना कोरोना संक्रमितको अवस्था गम्भीर छ । अहिलेसम्म यहाँ ५८,८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४९,६२६ जनाले कोरोनाभाइरसलाई जितेका छन् ।