आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टोकियो – कोरोनाभाइरस महामारीका कारण जापानले नेपाली नागरिकलाई प्रवेशमा रोक लगाएको छ । नेपाली मात्र होइन, जापान सरकारले अन्य देशका नागरिकलाई पनि अहिले आफ्नो देश प्रवेशमा रोक लगाएको हो ।

जापानले कोरोना भाइरसको नयाँ भेरियन्टको सम्भावित संक्रमण बिरूद्ध सावधानी अपनाउने उद्देश्यले आउदो डिसेम्बर २८ देखि जनवरीको अन्त्यसम्म विश्वभरका गैर आवासीय विदेशी नागरिकको जापान प्रवेशलाई अस्थायी रूपमा स्थगित गर्ने भएको छ ।

सरकारको विज्ञप्ति अनुसार जापानी नागरिक र विदेशी बासिन्दालाई प्रवेश गर्न दिइनेछ तर प्रस्थान हुनु ७२ घण्टा अघि र जापानमा आइपुगे पछि भाइरस परीक्षणमा नकारात्मंक भएको हुनुपर्नेछ ।

बेलायतसहित नेदरल्यान्ड्स, डेनमार्क र अस्ट्रेलियामा समेत नयाँ जीवाणुले निकै बढी संक्रमणता देखाएको र जापानमा पनि सो भाइरसको संक्रमित भेटिएसंगै शनिबार जापान सरकारले सावधानीको रूपमा अन्य देशहरुबाट जापानमा नयाँ प्रवेशलाई प्रतिबन्ध गर्ने निर्णय गरेको हो ।

यद्यपि थाईल्याण्ड, भियतनाम ,दक्षिण कोरिया र ताइवानलगायत १० देशका व्यापारी र विद्यार्थीको लागि यात्रा प्रतिबन्ध कम गर्न जापानको विशेष योजना भएकोले हालको यो नीति प्रभावित हुने छैन ।

जापानले सोमबारदेखि नयाँ भिसा जारी गर्न रोक्नेछ । पहिले नै भिसा प्राप्त गरेका व्यक्तिहरूलाई भने जापान प्रवेश गर्न दिइनेछ । तर प्रवेशका लागि आवेदन दिएको १४ दिन भित्र ब्रिटेन वा दक्षिण अफ्रिकामा भएकाको भने प्रवेश अनुमति रद्द गरिने भएको छ ।

महामारीको बीचमा भाइरस नियन्त्रणका लागि जापानले १५९ देश र क्षेत्रहरुबाट जापान प्रवेश गर्न प्रतिबन्ध लगाएको थियो । तर अक्टोबरदेखि सर्तहरु सहित सबै देशबाट तीन वा तीन महिना भन्दा बढीको लागि व्यापार र अन्य उद्देश्यले आउने विदेशी नागरिकको प्रवेश प्रवेश अनुमति दिइएको थियो ।

बेलायतमा कोरोना भाइरसको नयाँ भेरियन्ट अर्थात् फरक किसिमको संक्रमण तीव्र रुपमा फैलिएसँगै अहिले सर्वत्र चासो र चिन्ता बढेको छ । संक्रमितको संख्या बढ्दै गएपछि जापानसहित विभिन्न देशले बेलायतबाट प्रवेश गर्न रोक लगाएका छन् ।

विज्ञहरूका अनुसार नयाँ भाइरस हाल महामारीको रूप लिएको कोभिड भाइरस प्रजातिभन्दा ७० प्रतिशत बढी तीव्र फैलिन सक्छ । यो भाइरसलाई बेलायतले भियुआई अर्थात् भ्यारियन्ट अन्डर इन्भेस्टिगेसन नाम दिएको छ ।

यो भाइरस सार्स कोभिडका स्पाइक प्रोटिनमा जेनेटिक म्युटेसन भएर आएको अनुमान गरिएको छ । सामान्यतः कुनै पनि भाइरसमा म्युटेसन वा आनुवंशिक परिवर्तन भएर नयाँ भाइरस उत्पन्न हुनुलाई स्वाभाविक मानिन्छ ।

तपाईको प्रतिक्रिया