मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

काठमाडौं –  विगत लामो समयदेखि चीनले अस्ट्रेलियासँगको व्यापारमा सिर्जना गरिरहेको समस्यालाई लिएर अस्ट्रेलियाले विश्व व्यापार संगठनमा उजुरी दायर गरेको छ । अस्ट्रेलियाको पछिल्लो निर्णयसँगै चीन र अस्ट्रेलियाको द्विदेशीय सम्बन्धमा झन् तनाव बढ्ने देखिएको छ ।

अस्ट्रेलियाका व्यापारमन्त्री साइमन बर्मिङ्घमले अस्ट्रेलियाले चीनले पछिल्लो समयमा सिर्जना गरिरहेको समस्याबारे विश्व व्यापार संगठनमा उजुरी गरिएको पुष्टि गरेका छन् । चीनले अस्ट्रेलियाबाट आयात गरिरहेको जौ, वाइन, मासु, दुग्ध पदार्थलगायत उत्पादनमा क्रमिक रूपमा बन्देज लगाउँदै आइरहेको छ । अस्ट्रेलियाको निर्यात व्यापारमा करिब ४० प्रतिशत स्थान ओगट्ने चीनले अस्ट्रेलियासँगको व्यापारमा समस्या सिर्जना गरिरहेपछि आफू विश्व व्यापार संगठनमा जान बाध्य हुने अस्ट्रेलियाले बताउँदै आएको थियो । अर्कोतिर चीनले भने अस्ट्रेलियाले आफूप्रति विरोधीको व्यवहार गरेको आरोप लगाउँदै आएको छ ।

अस्ट्रेलियाले कोरोना भाइरसको उत्पत्ति भएको विषय सत्यतथ्य छानबिन हुनुपर्ने माग कडा रूपमा उठाएसँगै चीनसँगको सम्बन्धमा तनाव सुरु भएको थियो । त्यसलगत्तै अस्ट्रेलियाबाट निर्यात हुँदै आएको मासु, दुग्ध पदार्थ, जौ, वाइनलगायत खाद्य पदार्थमा चीनले कडाइ गर्दै आएको थियो । व्यापारिक रूपमा बिग्रँदै गएको सम्बन्ध पछिल्लो समयमा कूटनीतिक र राजनीतिक तहमा समेत पुगेको छ ।

अस्ट्रेलियाका प्रधानमन्त्रीका साथै अन्य उच्च नेताले समेत आफूले चीनका समकक्षीसँग गरेको वार्ता प्रयासलाई चीनले बेवास्ता गरेको बताइसकेका छन् । त्यतिमात्र नभएर केही साताअघि चीनको विदेश मन्त्रालयका प्रवक्ताले अस्ट्रेलियाली सेनाले अफगानी बालकको घाँटीमा छुरा राखेको झूटो तस्बिरसहितको फोटो ट्वीट गरेपछि सम्बन्धमा झन् तनाव सिर्जना भएको हो ।

अस्ट्रेलियाले विश्व व्यापार संगठनमा उजुरी दर्ता गरे पनि व्यापारमन्त्री बर्मिङ्घमले दुवै पक्ष सहमतिमा आउन स्वीकार भए समस्याको समाधान बाहिरैबाट समेत समाधान हुने बताएको बीबीसीले जनाएको छ । अस्ट्रेलियाका अर्थशास्त्री तथा करिब डेढ दशक अस्ट्रेलियाली सरकारको आर्थिक सल्लाहकारका रूपमा काम गरिसकेका डा. कृष्ण हमालले अस्ट्रेलिया र चीनको व्यावसायिक तथा कूटनीतिक सम्बन्ध यो स्तरमा आउनुमा चीनमात्र नभएर अस्ट्रेलियाको समेत केही मात्रामा कमजोरी रहेको सुनाउँछन् ।

‘द्विदेशीय सम्बन्ध यो अवस्थामा आउने कसैले पनि कल्पना गरेको नभए पनि अब चीनसँग सम्झौता गर्नुको खासै विकल्प पनि देखिँदैन,’ उनले भने । हमाल अमेरिकाका नवनिर्वाचित रास्ट्रपति जो बाइडनले चीनप्रति लिने नीतिले समेत अस्ट्रेलिया र चीनको सम्बन्धमा असर पर्ने दाबी गर्छन् । ‘अहिले देखिएको व्यापारिक तनावले अस्ट्रेलिया मात्र नभई चीनलाई समेत उत्तिकै असर परिरहेकाले कुनै विन्दुमा आएर सहमति गर्नुको विकल्प छैन र दुवैले सहमति गर्नेमा आशावादी हुन सकिन्छ,’ हमालको भनाइ छ ।

विज्ञले चीनले आफू सुपरपावर भएको प्रभुत्व जमाउनसमेत अस्ट्रेलियालाई दबाबमा राख्न चाहेको बताएका छन् । अर्थशास्त्री हमाल कोभिडका कारण अर्बौं डलर बराबरको आर्थिक सहायता जनतालाई वितरण गरिसकेका दुवै देशका अर्थतन्त्र धान्नका लागि समेत दुवै देशले सहमति गर्नुको विकल्प नभएको उनको विश्लेषण छ । अर्थशास्त्रमा विद्यावारिधि गरेका डा. किरण श्रेष्ठ पछिल्लो समयमा देखिएको तनाव व्यावसायिकभन्दा पनि भूराजनीतिक विषयसँग सम्बन्धित रहेको दाबी गर्छन् । उनी पछिल्लो समयमा चीनले प्रशान्त क्षेत्रमा बढाइरहेको प्रभावका कारण अस्ट्रेलियाले असुरक्षित महसुस गरेकाले समेत यो समस्याको सिर्जना भएको बताउँछन् ।

‘अहिले देखिएको यो समस्या मुख्य गरेर प्रशान्त क्षेत्रमा देखिएको भूराजनीतिक प्रभाव र समस्या नै हो,’ डा. थापा भन्छन, ‘यो दुई देशको आफ्नै किसिमको शक्ति प्रदर्शन मात्र भएकाले कुनै न कुनै विन्दुमा गएर सहमतिमा टुंगिने देखिन्छ ।’ उनी पछिल्लो समयमा चीन र अस्ट्रेलियाबीचमा बढिरहेको समस्याले आर्थिक तथा वैकल्पिक बजारका सन्दर्भमा भने परिवर्तन आउन सक्ने दाबी गर्छन् । ‘अस्ट्रेलियाले चीनसँग मात्र व्यापारका लागि निर्भर रहनुको साटो अन्य देशसँगको बजार समेत खोज्नुपर्छ भन्ने शिक्षा पाएकाले समेत अस्ट्रेलियाली निर्यात व्यापारमा परिवर्तन आउन सक्छ,’ थापाले भने । उनी दुई देश व्यावसायिक रूपमा एकआपसमा धेरै हदसम्म निर्भर रहेकाले समेत यो समस्या चाँडै समाधान हुने विश्वास व्यक्त गर्छन् ।

तपाईको प्रतिक्रिया