मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

काठमाडौं – बेलायतले सुरु गरेको कोभिड विरुद्धको खोप कार्यक्रममा पहिलो हप्ता १ लाख ३० हजारभन्दा धेरै मानिसले खोप लगाइसकेका छन् । खोप वितरणको जिम्मा लिएका मन्त्री नादिम जहवीले यस सम्बन्धी ट्विट गर्दै १ लाख ३७ हजार ८९७ नागरिकले ८–१५ डिसेम्बर सम्ममा अमेरिकी कम्पनी फाइजरको खोप लगाएको जानकारी दिएका हुन् ।

उनले यसलाई राम्रो सुरुवात बताएका छन् । सोमबारदेखि सुरु भएको यो कार्यक्रममा अहिले विभिन्न समुदायहरुमा खोप लगाइराखिएको छ । ती मध्येमा २०० स्थानीय खोप क्लिनिकहरु अर्को हप्ताको अन्त्यसम्म सञ्चालन भइरहने बताइएको छ । त्यसपछि अर्को १ हजार खोप क्लिनिक स्थापना गरिनेछ ।

सरकारले ५० वर्षभन्दा माथिको उमेरका र स्वास्थ्य समस्या भएका झन्डै २ करोड ५० लाख नागरिकहरुलाई पहिले खोप लगाउने लक्ष्य राखेको हुँदा यसलाई तिव्र रुपमा विस्तार गर्न आवश्यक भएको पनि बताइएको छ । तर सरकारले चाहे अनुसार यति ठूलो स्तरमा खोप कार्यक्रम सञ्चालन गर्न र खोप डेलिभरिका लागि हजारौँ अतिरिक्त स्टाफ आवश्यक पर्ने हुँदा आगामी दिनहरु चुनौतिमय रहने बताइएको छ । यसमा अस्पताल र स्थानीय क्लिनिक एक्लैले सबै धान्न नसक्ने बताइएको छ ।

यता, सरकारले अत्यन्तै छिटो र प्रभावकारी रुपमा काम गरि खोपको पहुँच सुनिश्चित गराइरहेको छ । यसमा खोप उत्पादन, खरिद गर्ने र डेलिभर गर्ने कामका लागि मात्र १२ अर्ब पाउन्ड लाग्ने अनुमान छ ।

पहिलो हप्ताको खोप कार्यक्रममा ७० अस्पतालहरुले सहभागिता जनाएका छन् । जहावीले भनेका छन्, “खोप वितरणमा पारदर्शिता सबैभन्दा जरुरी कुरा हो ।” स्वास्थ्य सचिव म्याट हेनककले पनि यो केबल सुरुवात भएको र छिटै सबैमाझ खोप पुर्याएर जनताको जीवन सामान्य अवस्थामा पुर्याउन मद्दत गर्ने बताएका छन् । फाइजर खोपलाई अत्यन्तै चिसोमा स्टोर गरेर राख्नुपर्ने भएकाले पनि सबैतिर सहज वितरण गर्न कठिन हुन सक्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया