आइतबार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

काठमाडौं – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गराएका छन ।

नेकपाका १८ जना सांसदहरूले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । प्रदेश सांसद यमलाल कँडेलसहितका १८ जना सांसदले संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहलाई हस्ताक्षर बुझाएका छन् ।

‘सरकारप्रति विश्वास छैन भनेर हाम्रै पार्टीका १८ जना सांसद साथीले मलाई अविश्वासको प्रस्ताव बुझाउनुभएको छ’, प्रमुख सचेतक शाहले भने, ‘निवेदन आएको छ । अब यसबारेमा म सांसद सदस्यहरूलाई बोलाएर छलफल गर्छु ।’

सचेतक शाहले अविश्वासको प्रस्तावको हस्ताक्षर आफूले बुझेको र छलफलपछि के गर्ने भन्नेबारे निर्णय लिइने जानकारी दिए । हस्ताक्षर गर्नेहरूमा पूर्वएमालेका १३ र पूर्वमाओवादीका ५ जना सांसद छन् । नेकपा प्रमुख सचेतक शाहका अनुसार शाही नेतृत्वको सत्ताले केही पनि काम गर्न नसकेको भन्दै उनीबिरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका छन् ।

नेकपाका ३३ जना सदस्यमध्ये १८ जना सांसदले अविश्वास प्रस्ताव दर्ता गराएका हुन् । प्रदेश सरकारकी उपसभामुख पुष्पा घर्तीमगरले उक्त अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेकी छन् ।

संविधान अनुसार प्रदेशसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्यको एक चौथाइ सदस्यले मुख्यमन्त्रीमाथि प्रदेशसभाको विश्वास छैन भनी लिखित रुपमा अविश्वास प्रस्ताव दर्ता गराउन सक्ने व्यवस्था छ । कर्णाली प्रदेशसभामा नेकपाका ३३, कांग्रेसका ६ र राप्रपाका एक गरी ४० जना सदस्य रहेका छन् ।

तपाईको प्रतिक्रिया