काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयससले कोरोना महामारीबाट पाठ सिकेर अर्को महामारीका लागि तयारी अवस्थामा रहनुपर्ने बताएका छन् । महानिर्देशक डाक्टर टेड्रोसले अब विश्वका सबै देशले जनस्वास्थ्य क्षेत्रमा लगानी गर्नुपर्ने बताएका हुन् ।
कोरोनाले सबैलाई पाठ सिकाएको उल्लेख गर्दै टेड्रोसले भने, ‘कोरोनाले सिकाएको एउटा कुरा के हो भने स्वास्थ्य भनेको विलासिताको बस्तु होइन । यो आवश्यकताको कुरा हो र यो एउटा मानव अधिकार हो ।’ महानिर्देशक डाक्टर टेड्रोसले जनस्वास्थ्य सामाजिक, आर्थिक र राजनीतिक स्थायित्वको आधार स्तम्भ भएको बताए ।
उनले कोरोना नै अन्तिम महामारी नहुने उल्लेख गर्दै भविष्यका लागि विश्व तयार रहनुपर्ने पनि बताए । ‘यो नै अन्तिम महामारी हुँदैन, इतिहासले बताउँछ कि महामारी हाम्रो जीवनको वास्तविकता हो । अर्को महामारीका लागि पहिलेभन्दा बढी तयार हुनुपर्छ,’ उनले भने ।
उनले केही देशले सार्स, मर्स, पोलियो, इबोला र फ्लुलगायतका महामारीबाट सिकेर तुलनात्मक रुपमा राम्रो काम गरेको बताए । केही देशले मेडिसिनका क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गरेको बताउँदै महानिर्देशक टेड्रोसले धेरै देशले भने आधारभूत जनस्वास्थ्यका क्षेत्रमा पनि हेलचेक्य्राइँ गरेको बताए ।
गत वर्षको डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको भनिएको कोरोना महामारी विश्वका एकाध देशबाहेक सबैतिर फैलिएको छ । सोम दिउँसोसम्म विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ करोड ९१ लाख ८८ हजार नाघेको छ । त्यस्तै कोरोनाबाट ९ लाख २८ हजारभन्दा बढीको मृत्यु भएको छ भने कोरोना पुष्टि भएकामध्ये करिब २ करोड १ लाख जना संक्रमणमुक्त भएका छन् ।