काठमाडौं – विश्व स्वास्थ्य सङ्गठनका अनुसार अहिले झन्डै १८० वटा खोपको परीक्षण भइरहेको छ । तर कुनैको पनि अन्तिम परीक्षण सम्पन्न भएको छैन ।
अक्सफर्डको संलग्नता भएको यो खोप दुई चरणका परीक्षणहरूमा सफल देखिएको थियो । यो चाँडै बजारमा आउन सक्ने धेरैले ठूलो आशा गरेका छन् । यसको तेस्रो चरणको परीक्षणमा यूके, अमेरिका, ब्रजिल र दक्षिण अफ्रिकामा ३०,००० स्वयंसेवीहरू सहभागी छन् ।
खोपको तेस्रो चरणको परीक्षणमा विश्वभरि हजारौँ मानिसहरू सहभागी हुन्छन् र त्यस्ता परीक्षणहरू वर्षौँसम्म चलिरहन्छन् । सङ्गठनले सुरक्षित तरिकाले परीक्षण गर्न समय लाग्ने भएकोले यो वर्ष नै कुनै पनि खोपले अनुमति पाउने अपेक्षा आफूले नराखेको बताएको छ ।
प्रभावकारिता र सुरक्षा निर्देशिका पूरा गरेर अनुमति पाउन कुनै पनि खोपलाई समय लाग्ने उसले बताएको हो । परीक्षणको पहिलो र दोस्रो चरण सफलतापूर्वक पार गरिसकेकोले एस्ट्राजेनेका-अक्सफर्ड विश्वविद्यालयले बनाइरहेको खोपलाई अग्रपङ्क्तिमा रहेको प्रतिस्पर्धीको रूपमा हेरिएको छ ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आउँदो नोभेम्बर महिनाको ३ तारिखमा हुने राष्ट्रपतीय चुनावअघि नै अमेरिकामा उपलब्ध होस् भन्रे आफूले चाहेको बताएका छन् । तर उनका टिप्पणीहरूले खोप निर्माणमा हतारिँदा सुरक्षाभन्दा राजनीति प्राथमिकतामा पर्ने चिन्ता केहीमा बढेको छ ।
रुसमा छिट्टै बनेको खोपप्रति पनि केही वैज्ञानिकहरूले अविश्वास व्यक्त गरेका छन् र रुसी अध्ययनको केही परिणामहरूलाई चुनौती दिएका छन् ।