काठमाडौँ – पाँच महिनापछि आजबाट अन्तर्राष्ट्रिय नियमित उडान खुला भएको छ। सरकारले भदौ १६ देखि सर्तसहित अन्तर्राष्ट्रियतर्फ नियमित र उद्धार उडान सुचारु गर्ने निर्णय गरे पनि नियमित आन्तरिक उडान अझै अनिश्चित छ।
सरकारले बन्दाबन्दीको पाँच महिनापछि अर्थात आज भदौ १६ देखि निश्चित शर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेको थियो ।
नेपालमा बन्दाबन्दी शुरु भएको चैत ११ देखि अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाइएको थियो । यस बीचमा कुनै पनि व्यावसायिक उडान भएनन् । विदेशमा अलपत्र नेपाली ल्याउन तथा बन्दाबन्दीले अड्किएका नेपाल र विदेश दुबैतर्फ नागरिक आवतजावतका लागि चार्टर्ड उडानहरु भए । त्यस्तै अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन विभिन्न मुलुकबाट कार्गो उडान पनि सञ्चालन गरियो । बन्दाबन्दीको अवधिमा दैनिक १८ वटासम्म चार्टर्ड उडान भएका थिए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पाँच दिनअघि नियमित अन्तर्राष्ट्रिय उडान खुला गर्ने मिति घोषणा गर्दै उडान तालिकासमेत सार्वजनिक गरिसकेको छ। तालिका अनुसार मलेसियाको क्वालालम्पुर, टर्कीको इस्तानबुल, कोरियाको सोल, चीनका छन्दु, गोन्जाओ र छोङ्चिन्, युएईको सारजाहा, दुबई, अबुधाबी, कतार, हङकङ, र जापानको नारिताबाट नियमित रूपमा काठमाडौंका उडान हुनेछन्।
पहिलो उडान निगमको नारितामा
नियमित अन्तर्राष्ट्रिय उडान शुरु हुने आज पहिलो दिन नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को एक मात्र उडान तालिका रहेको छ । निगमको वाइड बडी जहाजले आज राति १ बजे जापानको नारिताका लागि उडान भर्ने विमानस्थलले जनाएको छ । आजको लागि अन्य एयरलाइन्सको नियमित उडान तालिका छैन । चार्टर्डतर्फ आज पाँच उडान हुनेछन् ।
नेपाल एयरलाइन्सले सेप्टेम्बर महिनामा जापानको नारिता विमानस्थलमा ३ वटा उडान गर्ने भएको छ ।
पछिल्लो समय सरकारले गरेको निर्णय अनुसार दैनिक उद्धार र नियमित उडानमार्फत आठ सय जना यात्रुलाई सेवा दिइनेछ। सरकारले जारी गरेको सर्त अनुसार उडान बन्द गर्नुपरेको अवस्थामा जुनसुकै बेला पूर्व जानकारी दिइ अथवा नदिइ यी उडानहरु बन्द गरिनेछ।